हेटौँडा : हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको मानवसेवा आश्रममा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाका एक वृद्धलाई गाडीमा ल्याएर छाडिएको छ। शुक्रवार वृद्ध जगन्नाथ गिरीलाई उनकै परिवारका सदस्यले मानवसेवा आश्रम मुख्य कार्यालय गेटबाट सय मिटर अगाडि सेतो गाडीमा ल्याई आश्रमलाई जानकारी नगराएर बाटोमा अलपत्र छाडेर गएको मानवसेवा आश्रमका अभियन्ताको दावी छ।
२०७६ भदौ २५ गते चितवनको सडकपेटीमा कष्टकर जीवनयापन गरिरहेको अवस्थाबाट उनलाई आश्रमकी अभियन्ता निता केसीले उद्धार गरेर मानवसेवा आश्रम शाखा कार्यालय चितवनमा औषधि उपचारपछि मानवसेवा आश्रम मुख्य कार्यालय हेटौंडामा ल्याइएको थियो।
नियमित औषधि उपचार र काउन्सिलिङपश्चात् परिवारबारे बताएपछि २०७७ चैत ८ गते उनका छोरा मानवसेवा आश्रमै बुबालाई लिन आएपछि आश्रमले उनलाई सुखद् पुनर्मिलन गराएको थियो। गिरीको नाममा रहेको जग्गापास नहुँदा समस्यामा परेका उनका छोराहरु सोही काम सल्टाउन मात्र बुबा लिन आएको आश्रमकी अभियन्ता उमा भण्डारीले बताइन्।
‘छोरा बुबालाई लिन आएपछि हामी पनि खुशी हुँदै पुनर्मिलन गरायौँ। र, बुबाको नाममा आइरहेको वृद्धभत्ताको कार्डसमेत छोराको जिम्मा लगाएका थियौँ’, उनले भनिन्।
वृद्धभत्ता आश्रमले ननिकाली छोरा यामनाथ पौडेललाई जिम्मा लगाइएको थियो।
बृद्ध गिरीले आफ्नो नाममा आएको भत्ता ७० हजार छोराले निकालेर १२ हजारमात्र आश्रममा छाडेको आरोप लगाए। ८८ वर्षीय बृद्ध गिरीलाई आश्रमबाट लगेको १ महिना नबित्दै आफ्नो काम सकिएपछि छोराको समन्वयमा उनकै साथी गोकुल कुँवर (चालक) र छोराका एक साथीले आश्रममा पुर्याउन आएको उनले बताए। आफ्नो नाममा भएको २ करोड बराबरको सम्पत्ति ३ छोरालाई बाँडिएको तर बुढेसकालमा छोराहरुले नै यस्तो अवस्थामा पुर्याएको भन्दै उनले दुःखेसो पोखे।
आश्रममा गिरीलाई मात्र नभएर पटकपटक यस्ता घटना भइरहने र आफूहरुले यस्तो अवस्था धेरै सहिरहेको भन्दै अभियन्ता भण्डारीले मानवताको हनन् भएकोले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएर कानुनबमोजिम कारबाही गर्न अपिल गरेकी छिन्।
