वीरगंज : वीरगंजमा थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज-१३ का ५३ वर्षीय पुरुष रहेका छन्। गएराति १२:१० बजे उनको गण्डक हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साका सूचना अधिकारी विनय श्रीवास्तवले जानकारी दिए।
एक सातादेखि उपचार चलिरहेको ती पुरुषको वैशाख ६ गते नारायणी अस्पताल वीरगंजस्थित पीसीआर प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। श्वासप्रश्वासमा समस्या तथा निमोनियाको कारण उनको मृत्यु भएको चिकितसकहरुले बताएका छन्।
यसअघि वीरगंजमा १३९ जनाको स्वाब परीक्षण गर्दा ८६ जना नयाँ संक्रमित थपिएका छन्। नारायणी अस्पताल वीरगंजको प्रयोगशालामा शुक्रवार राति गरिएको स्वाब परीक्षणमा २ देखि ८३ वर्ष उमेर समुहका ६३ पुरुष र २३ महिला गरी कुल ८६ जनामा संक्रमण पुष्टि भएको हो।
नारायणी अस्पताल कोभिड संयोजक डा सरोज रोशन दासका अनुसार ८६ जना नयाँ संक्रमित मध्ये ६७ जना पर्साका, १३ जना बाराका, ४ जना रौतहटका र १/१ जना महोत्तरी र धनुषाका रहेका छन्। उनीहरुको सिटि भ्यालु १४ देखि ३४ सम्म रहेको छ।
यसैगरी, प्रदेश २ मा हाल सम्म आठ जिल्लाको तथ्याक अनुसार १ हजार ६ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये सबैभन्दा बढी पर्सामा ६ सय ४ जना रहेका छन्। पर्साका संक्रमित मध्ये करिब ५७३ जना होम आइसोसलनमा रहेका छन् भने बाँकी नारायणी अस्पतालको आइसीयू, एचडीयू र अब्जर्भेसन वार्डमा रहेका छन्।
हालसम्म पर्सा, बारा, सर्लाही र एक भारतीय गरी मृत्यु हुनेको संख्या १२ पुगेको छ। जसमा ३ जना महिला रहेका छन्।
