वीरगंज : शक्ति युवा क्लब र परवानीपुर युवा क्लबको आयोजनामा त्रिशक्ति सिमेन्ट प्रथम परवानीपुर गोल्डकप शनिवारदेखि शुरु भएको छ। वीरगंज-२१ परवानीपुर खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गरेका हुन्।
प्रतियोगिता उद्घाटनपछि उनले प्रदेश सरकार प्रदेशको खेलकुद विकासको लागि प्रतिबद्ध रहेको बताए। उनले परवानीपुर खेलकुद मैदान एतिहासिक खेलकुद मैदान भएको र करिब एक दशकदेखि बन्द भएको फूटबल प्रतियोगिता परवानीपुरमा हुनुले खुशी लागेको बताए।
उनले कोरोना महामारी जस्तै रोग व्याधीलाई खेलकुदले दूर गर्ने तथा आजको तनावको युगमा शारीरिक व्यायाम र खेलकुद अहम कुरा भएको बताए। खेलाडी राष्टको गहना भएकोले स्थानीय स्तरमा खेलाडीको सम्मान र खेल्ने अवसर सिर्जना भएमा खेलाडी उत्पादन गर्दै देशका लागि खेलकुदले फड्को मार्ने उनको भनाइ थियो।
उद्घाटन खेलमा वीरगंज युथ क्लबले नेपाल फुटबल संघ रौतहटलाई १ गोलले पराजित गरेको छ। खेल शुरु भएको १५ औं मिनेटमा डिबक्स भित्र आदित शाक्यले दिएको पासलाई श्रीजन शाक्यले गोलमा परिणत गरेका थिए। त्यसपछि रौतहटले गोल फर्काउन कडा परिश्रम गर्दा समेत गोल फर्काउन सकेन।
आइतवार अपरान्ह ४ बजे धुनषा र वीरगंज यूनाइटेडबीच खेल हुने आयोजकले जनाएको छ। बैशाख १८ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश २ का ६, बर्दिबास एपीएफ र हेटौँडा फुटबल एकेडेमी गरी ८ ओटा टिमको सहभागिता छ। प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छ।
