इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिवार भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा सम्पन्न खेलमा राजस्थानले कोलकातामाथि ६ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १८ दशमलब ५ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
कोलकाताका लागि राहुल त्रिपाठीले सर्वाधिक ३६ रन बनाउँदा दिनेश कार्तिकले २५ रन बनाए। त्यस्तै, नितिश रानाले २२ र प्याट कमिन्सले १० रन जोडे। राजस्थानका लागि क्रिश मोरिसले ४ विकेट लिँदा जयदेव उनादकट, चेतन सकारिया र मुस्ताफिजुर रहमानले समान १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको राजस्थानका लागि सन्जु सामसनले अविजित रहँदै सर्वाधिक ४२ रन बनाउँदा डेविड मिलरले २४ रन जोडे। त्यस्तै, यशस्वी जैसवाल र शिभम दुबेले समान २२/२२ रन बनाए। कोलकाताका वरुण चक्रवर्तीले २ तथा शिभम माभी र प्रसिध कृष्णले समान एक/एक विकेट लिए।
