वीरगंज : मध्य तराईमा चैत अन्तिम सातादेखि कोरोना महामारीको कारण दैनिक कोरोना संक्रमितको मृत्यु भइरहेको छ। शुरुमा पर्सा, कालिकामाई गापा २ का एक जना ६३ वर्षीय वृद्धको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको थियो। शुक्रवार साझ साढे ४ बजेसम्म पर्साका ६ जना, बाराका २ जना, सर्लाहीका १ जना र एक जना भारतीय गरी १० जनाको मृत्यु भइसकेको छ। १० जनामध्ये दुईको नारायणी बयोधा अस्पताल गण्डकमा मृत्यु भएको छ भने ८ जनाको नारायणी अस्पतालमा मृत्यु भएको छ। ८ मध्ये ५ जनाले भेन्टिलेटर सेवा नपाएको मृतकका परिवारजनले बताएका छन्।
भरतपुरको मृत्युलाई जोड्ने हो भने मध्य तराईको पर्सा, बारा, सर्लाही र एक जना भारतीयको गरी कुल ११ जनाको मृत्यु भइसकेको अवस्थामा नारायणी अस्पताल वीरगंजका चिकित्सकको लापरवाही देखिएको पीडितहरुको गुनासो छ। सर्लाही, मलगंवा २ का ४२ वर्षीय पुरुष गत वैशाख ७ गते आईसीयूमा छट्पटिएर मरिरहँदा समेत नारायणी अस्पतालमा भेन्टिलेटरको कुनै व्यवस्थापन नमिलाइएको उनको परिवारजनले गुनासो गरेका छन्।
भेन्टिलेटर जडान गरी संक्रमतिको उपचारको लागि अस्पताल प्रशासनले प्राविधिक तयारी नगरेकोले अनाहकमा भेन्टिलेटर नपाएर करिब ५ जना संक्रमितले ज्यान गएको उनीहरुको गुनासो छ। एक संक्रमितका छोरोले भने, ‘भेन्टिलेटरमा राखेर उपचार गरौ भन्दा पनि कुनै सुनुवाइ भएन, भन्दाभन्दै न त बाहिर रेफर नै गरियो, न भेन्टिलेटरमा राखियो।’ नारायणी अस्पतालमा ५ वटा भेन्टिलेटर हुँदाहुँदै पनि हालसम्म मृत्यु भएका ८ जनामध्ये ५ जनाले किन भेन्टिलेटर पाएनन् भन्ने प्रश्नमा अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले भेन्टिलेटरमा राख्नुभन्दा अघि नै मृत्यु भइसकेको जवाफ दिए। पाँच जनाले भेन्टिलेटर सेवा नपाएको उनको स्वीकारोक्ति पनि छ। कतिपय केसमा परिवारजनले भेन्टिलेटरमा राख्न अनुमति नदिएको र कतिपय केसमा भेन्टिलेटरमा राख्ने अवस्था पनि नभएकोले भेन्टिलेटरमा राख्न नसकिएको डाक्टर दासले स्पष्ट पारे।
उनले भने, ‘सबै सिरियस विरामीलाई भेन्टिलेटरमा एकै चोटी राख्न सकिँदैन, कतिपयलाई भेन्टिलेटरमा राख्ने क्रममा पनि ज्यान जान सक्छ, कति विरामीका परिवारजनले पनि भेन्टिलेटरमा नराख्नुहोस, आईसीयूमा अक्सिजनमै राख्न भन्नु भएको थियो।’
तर कोरोना संक्रमितको उपचारमा सर्वेसर्वा अधिकार चिकित्सकमै निहीत भएकोले परिवारजनको अनुमतिको कुनै आवश्यकता नभएकोले अनुमतिका लागि पर्खेर कसैको ज्यान लिनु जायज कुरा नभएको नारायणी अस्पतालकै अर्का एक चिकित्सकले भने।