वीरगंज : बाराको सिमरामा जारी विश्वकर्मा सिमेन्ट ११औं जितपुर सिमरा गोल्डकपको उपाधि संकटा क्लब काठमाडौंले जितेको छ।
शनिवार साझ भएको फाइनल खेलमा अफ्रिकन रुटस एशोसिएसन, क्यामरुनलाई सडन डेथमा हराउँदै संकटा गोल्डकपको च्याम्पियन बनेको हो। निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय सडन डेथसम्म पुगेको थियो। सडन डेथमा भने गोलरक्षका राजाबाबु थापा निर्णायक बन्दा संकटा यसपालिको च्याम्पियन बन्न सफल भएको हो।
फाइनल खेलको म्यान अफ द म्याच अफ्रिकनका काका घोषित भए। उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे। विजेता बनेको संकटाले नगद ७ लाखसहित ट्रर्फी हात पारेको छ भने उपविजेता अफ्रिकनले ३ लाख ५० हजारमा नगद पुरस्कार तथा ट्रफी पाएको छ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक संकटाका राजाबाबु थापा घोषित भए। त्यसैगरी, उत्कृष्ट मिडफिल्डर पनि संकटाकै रोशन पहारी चुनिए भने उत्कृष्ट फरवार्ड भने अफ्रिकनका आंगिबे घोषित हुँदा उत्कृष्ट प्रशिक्षकको पुरस्कार संकटाका राजकुमार केसीले पाए। प्रतियोगिताको उदियमान खेलाडी आयोजक नव जनजागृति युवा क्लबका रोहन तामाङ घोषित भए भने फेयर प्ले पुरस्कार बागमती गाउँपालिका खेलकुद विकास समिति, फापरबारी, मकवानपुरले प्राप्त गरेको छ।
गत शनिवार भोजपुरमा सम्पन्न चौथो भोजपुर गोल्डकपमा पनि अफ्रिकनले फाइनलमा गोर्खा ब्वायज स्पोर्टस क्लब, रुपन्देहीसँग पराजित भएको थियो भने सिमराको जितसंगै संकटाले अफ्रिकनमाथि जितको ह्याट्रिक जमाउन पनि सफल भएको छ। यसअघि संकटाले अफ्रिकनलाई १९औं आहाँ रारा गोल्डकपको फाइनलमा पनि हराएको थियो भने बिराट गोल्डकपमा पनि पराजित गरिसकेको छ।
नव जनजागृति युवा क्लबको आयोजना तथा जितपुरसिमरा उपमहानगरपालिकाको विशेष सहयोगमा गत चैत्र ३१ गतेदेखि शुरु प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए।
