वीरगंज : पर्सा-बाराका जिल्ला प्रशासनले विवाह तथा धार्मिक कार्यक्रमका लागि अनुमति लिनुपर्ने सूचना जारी गरे पनि अटेर गरी सयौंको उपस्थितिमा वैवाहिक कार्यक्रमहरु भइरहेका छन्।
विवाहको लगन सुरु भएसँगै वीरगंजका करिब एक दर्जन होटल तथा पार्टी प्यालेसमा राति र बिहानको गरी दैनिक दुई वटा विवाह भइरहेको देखिएको छ।
सबै होटलमा सयौंको भीडभाड तथा धुमधामका साथ विवाह तथा धार्मिक कार्यक्रम भइरहेको छ।
गत वैशाख ७ गते जिल्ला प्रशासन कार्यालय पर्सा र त्यसको भोलिपल्ट जिल्ला प्रशासन बाराले सूचना जारी गर्दै यी दुई जिल्लामा २५ जना भन्दा बढीको सख्यामा भीडभाड वा कुनै कार्यक्रम नगर्न निर्देशन दिएको छ।
पर्सा-बारा प्रशासनले नेपाल–भारत सीमा क्षेत्र भई विवाह गर्नुपर्दा बेहुला–बेहुली र जन्ती गरी बढीमा दुई वटा सवारी साधनमा २५ जनाभन्दा बढी सवार नहुन तथा सो बाहेक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
विवाहका लागि २५ जनाभन्दा बढीको संख्यामा जन्ती जान नमिल्ने भने पनि प्रशासनको निर्देशनलाई कसैले नटेरेको होटल व्यवसायीहरु नै बताउँछन्।
वीरगंजका एक जना होटल व्यवसायीले भने, ‘हामी स्वयम् स्वास्थ्य मापदण्ड पालना गरी न्यून सहभागितामा विवाह वा अन्य कार्यक्रम गर्न जोड दिइरहेका छौं तर उहाँहरु आफैं मान्नु हुन्न।’
होटल तथा पार्टी प्यालेस प्रयोगको चलन बढदै गएपछि अधिकांशले होटल तथा पार्टी प्यालेसमै तामझामका साथ विवाह गर्न चाहेको उनले स्पष्ट पारे।
वीरगंजका अर्का एक होटल तथा पार्टी प्यालेसका सञ्चालकका अनुसार पोहोरदेखि रोकिएको विवाह यसै वैशाखमा भइरहेका छन्।
घर घर, टोल-टोलमा विवाह तथा धार्मिक कार्यक्रम भइररहेकाले प्रशासनले यो सबै रोक्न सम्भव नभएको उनको भनाइ थियो।
जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साका सूचना अधिकारी तथा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले निर्देशन अटेर गरेको पाइएमा संक्रामक रोग ऐन होटल तथा पार्टी प्यालेस सञ्चालकलाई कारबाही गरिने बताए।
प्रहरीलाई यस बारे जानकारी गराइसकिएको र आदेश पालना नभएको प्रतिवेदनको अनुसारमा अवज्ञा गर्ने होटल तथा पार्टी प्यालेसलाई कारबाही गरिने उनले बताए।
वीरगंजमा होटल भिस्वा, टाउन हल, रोयल पार्टी प्यालेस, कुमु होटल, लक्ष्मी नारायण पार्टी प्यालेस, परम्परा पार्टी प्यालेस, शाह पार्टी प्यालेस, देव पार्टी प्यालेस, ओम होटल तथा पार्टी प्यालेस,सिटी पार्टी प्यालेस, बसपार्कको पार्टी प्यालेस लगायतमा भीडभाड अर्थात सयौंको सख्यामा विवाह तथा कार्यक्रम भइरहेका छन्।
त्यसैगरी बाराको होटल दरबार, करण होटललगायत अन्य पार्टी प्यालेसमा कोरोना संक्रमण न्यूनीकरणका लागि बनाइएको स्वास्थ्य मापदण्डलाई अटेर गरी विवाह तथा धार्मिक कार्यक्रम आयोजना हुने गरेको छ।
