काठमाडौं : कोभिड-१९ संक्रमण नियन्त्रणका लागि एमालेले कार्यकर्ता परिचालन गर्ने भएको छ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकले कोभिड-१९ नियन्त्रका लागि पार्टीलाई परिचालन गर्ने निर्णय गरेको हो।
जिल्ला-जिल्लामा हेल्थ डेस्क राख्ने, जागरण अभियान चलाउने र कोरोनाविरुद्ध पार्टीलाई एक ढिक्का बनाउने निर्णय भएको एमालेका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
'जिल्ला जिल्लामा हेल्थ डेस्क राख्ने। गाउँ गाउँमा जागरण अभियान चलाउने। कोरोना बिरुद्धको लडाइमा एक ढिक्का हुने भन्ने निष्कर्ष निकालेका छौं,' उनले भने।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई कारवाही गर्नेबारेमा छलफल भए पनि कुनै निर्णय भने नभएको ज्ञवालीको भनाई छ।
'आवश्यक निर्णय हुँदैजाने छ। स्थितिको हामीले समीक्षा गर्यौं। हामीले अविश्वासको प्रस्तावको तयारी भएको भन्ने पनि सुन्यौं,' उनले भने।
उनले सरकाले तत्काल लकडाउन नगर्ने पनि बताएका छन्। देशब्यापी लडकडाउन नभए पनि हटस्पटमा भने कडाइ हुनसक्ने उनको भनाई छ।
'तत्काल नेसनवाइड लकडाउन गर्दैनौं। कोभिडको चेन ब्रेक गर्नुपर्ने छ। सकभर मान्छेको जिविकामा प्रभाव नपर्नेगरी काम गर्छौ। हटस्पटमा लकडाउन हुन सक्छ,' उनले भने।
