PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

प्रकाश सपुतको देखाइ र भोगाइले जन्माएको गुनासो : ‘मेरो पनि होइन र यो देश?’



लक्ष्मी बलायर

प्रकाश सपुतको देखाइ र भोगाइले जन्माएको गुनासो : ‘मेरो पनि होइन र यो देश?’

काठमाडौं : अहिले एउटा प्रश्न चर्चामा छ - ‘मेरो पनि होइन र यो देश?’ गायक प्रकाश सपुत र समूहको यस प्रश्नमा लय मिलाएका छन् देशभरका आम मानिसले जसले देशमै रहेर पनि नागरिक हुनुको अनुभूति संगालेका छैनन्।

हुन त एउटा गीतको बोल हो ‘मेरो पनि होइन र यो देश?’ तर, त्यही एउटा गीत हजारौंको आवाज बनिदिएको छ। आवाज बनेको छ र त सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा उक्लियो। सामाजिक सञ्जालमा चर्चा बटुल्यो।

देशको राजनीतिक उथलपुथल, महामारीबिच आम जनताले भोगेको अभाव, शिक्षा स्वास्थ्यजस्ता सेवाका लागि संघर्ष, विभेद, बेथिती र निराशा – यस्ता विषयले निकै निराश बनाएको रहेछ प्रकाशलाई। त्यसैले यस्ता समस्यालाई समेछेर राष्ट्रिय भावको गीत बनाउन मन लागेको रहेछ। आफूले अनि आफ्ना वरपरकाको भोगाइ र अनुभव संगाले गीत लेखे। भाका र संगीत भरे। गाए पनि आफै।

'नेपालमा गर्न सक्नेलाई राम्रो पनि छ तर नसक्नेको अवस्था दयनीय छ। कसैलाई यो देश ठिक लाग्छ, कसैलाई लाग्दैन। त्यो भावना हुँदाहुँदै पनि हामी बिचमा सामाजिक विविधता, सांस्कृतिक विविधता, सुन्दरता र आत्मीयता छ,’ सपुतले गीतको रचना गर्भबारे सुनाए,’नेपालको सांस्कृतिक सुन्दरताभित्रको नेपाली नागरिकहरुको दु:ख, पिडा र वेदनालाई समेट्ने प्रयासले यो गीत जन्मेको हो।'

गीतको शीर्षक त केही वर्षअघि नै डायरीमा टिपेका थिए। त्यसैमा बिस्तारै मिल्दो शब्दहरूको लय मिलाउँदै गए। आफूलाई थेगो बनाएर टुक्का समेट्न र स्टोरी बुन्न भने निकै समय लाग्ने बताए।

यो गीत सरकारविरोधि गीत नभएको गायक सपुतको कथन छ। भन्छन्, 'यस गीतमा कसैलाई दोष लगाइएको छैन। फलानो प्रधानमन्त्री, नेताले यस्तो गर्‍यो र भष्ट्राचार गर्‍यो भनेर कसैलाई व्यक्तिगत रुपमा आरोप लगाइएको छैन। व्यवस्थामाथि हाम्रो निराशा प्रस्तुत गरिएको छ।'

देखाइ र भोगाइ गीतको केन्द्रमा छ। 'बाउ बाजेले त्यही किसिमको निराशा र पीडा भोगे। केही विकाश र परिर्वतन भए। तर, हाम्रो जीवनशैली त उस्तै छन् नि। यसमा कसैलाई आरोप नलगाएकाले यो गीत सम्रग गुनासो हो,' उनले बताए।

समूहगत गायनमा उनलाई देवेन्द्र बब्लु, सुनिल विकलगायतले साथ दिएका छन्। यस्तै गीतको भिडियोमा अमर न्यौपाने, सरिता लामिछाने, राजु परियार र ऋषि धमलालाई क्रमश: साहित्य, कला, गायन र पत्रकारिताका प्रतिनिधिका रुपमा उभ्याइएको छ। कुरा सुन्न र सुन्न पर्नेहरूसम्म पुर्‍याउन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell