PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सातामै साढे तीन सय प्रतिशतले संक्रमण वृद्धि, तयारी शून्य, सरकारी निकायबाटै मापदण्ड उल्लंघन



विधुर ढकाल

सातामै साढे तीन सय प्रतिशतले संक्रमण वृद्धि, तयारी शून्य, सरकारी निकायबाटै मापदण्ड उल्लंघन

काठमाडौं : नेपालमा हालसम्म दुई लाख ९७ हजार ८७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छ। हाल नेपालमा १६ हजार ८२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

पछिल्लो दुई सातामा मात्र दैनिक औसतमा एक हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको तथ्यांकले देखाउँछ। अघिल्लो साता हरेक दिन औसतमा ५६१ जनामा संक्रमण पुष्टि भएको छ। अघिल्लो साता भन्दा यो सात ३४१.९ प्रतिशतले बढी हो।  

१४ दिन अगाडि नेपालमा ३०३ जनामा संक्रमण पुष्टि भएकोमा वैशाख ११ गते मात्र दुई हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ। जुन १४ दिन अगाडिको भन्दा ८२०.५ प्रतिशतले बढी हो।

पछिल्लो १४ दिनमा मात्र नेपालमा १७ हजार ३६२ जनामा संक्रमण पुष्टि भएको छ।

सबै जिल्लामा सक्रिय संक्रमित

देशभरका ७७ वटै जिल्लामा हाल कोभिड-१९ का सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ। जसमध्ये ४२.८ प्रतिशत उपत्यकाका तीन जिल्लामा मात्र छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा सात हजार २०१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

जसमध्ये काठमाडौंमा मात्र पाँच हजार ५७१ जना सक्रिय संक्रमित छन्। त्यस्तै ललितपुरमा एक हजार ९८ जना र भक्तपुरमा ५३२ जना सक्रिय संक्रमित छन्।

त्यस्तै बाँके जिल्लामा दुई हजार ३०, रुपन्देहीमा एक हजार १३७ कास्कीमा ५१४, पर्सामा ५८१ जना सक्रिय संक्रमित छन्।

 

९२ प्रतिशत संक्रमित घरमै

यसैबीच मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार ९२.२ प्रतिशत सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन्। कोभिड-१९ को युके भेरियन्ट र डबल म्युटेन्ट भेरियन्टको संक्रमण समुदायमा समेत देखिन थालेको पछिल्लो तथ्यांकले पुष्टि गर्दा अधिकांश संक्रमितहरु भने घरमा नै कमजोर स्वास्थ्य मापदण्डका साथ बसिरहेका छन्।

१६ हजार ८२८ सक्रिय संक्रमित मध्ये १५ हजार ५१२ जना संक्रमित होम आइसोलेसनमा रहेको तथ्यांकमा उल्लेख छ। त्यस्तै एक हजार ३१६ संक्रमित मात्र अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेका छन्।

जसमध्ये २१३ जनाको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ। ती मध्ये पनि ६९ जनालाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ। बागमती प्रदेशमा सबैभन्दा बढी ८३ जना आईसीयूमा छन्। जसमध्ये ४९ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ।

 

भारतबाट आएका एक हजार ३८१ जनामा संक्रमण

भारतमा पछिल्लो समय संक्रमण बढ्दै जाँदा नेपालमा पनि जोखिम बढ्दै गएको छ। भारतबाट प्रवेश गर्ने एक हजार ३८१ जनामा संक्रमण पुष्टि भएको छ। गत चैत ६ देखि वैशाख १० गते सम्मको तथ्यांक अनुसार हालसम्म भारतबाट नेपाल प्रवेश गर्ने १७ हजार ७७१ जनाको प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गरिएको छ।

जुन परीक्षण न्यून मात्रामा हो। जसमध्ये सबैभन्दा बढी त्रिनगर हेल्थ डेस्क कञ्चनपुरमा १२ हजार १५९ जनाको एन्टिजेन परीक्षण गरिएको छ। त्यहाँ ९८५ जनामा संक्रमण पुष्टि भएको छ।

दैनिक नेपाल प्रवेश गर्नेको संख्या हजारौँ भए पनि परीक्षण न्यून हुने गरेको छ। १० गते जम्मा एक हजार १४३ जनाको परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रवेश गर्ने ९ नाकामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षण गर्दै आएको छ।    

 

प्रक्षेपण दैनिक ११ हजारको, मापदण्ड पालनामा सरकारकै खेलाँची

स्वास्थ्य संस्थामा हाल बेडको अभाव हुन थालेको छ। त्यसको व्यवस्थापनमा सरकारले न्यून कदम चालेको छ। हाल अस्पतालमा भर्नादर बढ्दै गएको छ। यसअघि गत वर्ष नेपालमा कोभिड-१९ संक्रमितको मृत्युमध्ये ९७ प्रतिशत अस्पतालमा थियो। तर यसपटक ५० भन्दा कम उमेरका संक्रमित पनि आईसीयूमा भर्ना हुने दर बढेको भन्दै यो चिन्ताजनक भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डाक्टर कृष्णप्रसाद पौडेल बताउँछन्। 'नेपालको जनसंख्याको बनोट नै ५० वर्ष उमेर सम्मका जनसंख्या बढी हुन्। यो उमेर समूहको आईसीयूमा भर्ना हुने दर बढ्नु भनेको चिन्ताको विषय हो,' उनले भने।

सरकारले देशका ६४९ आधारभूत अस्पतालहरुमा यसबिच ५/५ बेड थप भएको र वीर अस्पतालको नयाँ भवनलाई आइसोलेसनमा परिणत गर्ने बताएको छ।

मन्त्रालयको पछिल्लो प्रक्षेपण अनुसार असार सम्ममा नेपालमा संक्रमण ६ लाख पुग्ने बताइएको छ। तर, पछिल्लो समय बढ्दै गएको नयाँ भेरियन्टहरु बढ्दै गए यो थप बढ्ने डाक्टर पौडेल बताउँछन्।

'नयाँ भेरियन्टको रिप्रोडक्सन डेढ गुणा बढी छ। असारसम्म नयाँ भेरियन्ट नहुँदा ६ लाख भनेकोमा यो डेढ गुणा बढ्न सक्छ,' उनले भने, 'पुरानो भेरियन्टको रिप्रोडक्सन २.६ प्रतिशत रहेकोमा नयाँ भेरिन्टको चार प्रतिशतको हाराहारीमा छ।'

असार सम्ममा नेपालमा दैनिक ११ हजार संक्रमित पहिचान हुने प्रक्षेपण गरिएको छ। यदि स्वास्थ्य मापदण्डको नियमित पालना गरिए यो ११ सयमा झार्न सकिने उनी बताउँछन्।

तर, स्वास्थ्य मापदण्डको पालनामा भने सरकारले कडाइ गर्न सकेको छैन। सरकारले स्वास्थ्य मापदण्ड उल्लंघनका लागि प्रोत्साहित गर्ने गतिविधि गर्दै आएको छ।

सरकार आफैले २५ जना बढी बैठकमा सहभागी नहुने भने पनि प्रधानमन्त्री निवास बालुवाटारमा दैनिकजसो भीड जम्मा गरिँदै छ। बालुवाटारमै प्रधानमन्त्रीकै नेतृत्वमा नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा दुई सय बढी सहभागी भइरहेका छन्।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गर्न पुग्दा सयौँ मानिसको भीड भेला पारे। खेलकुदका गतिविधिमा सयौँ दर्शक उपस्थित भएका छन्। शनिवार त्रिवि क्रिकेट रंगशालामा भएको खेल हेर्न दर्शकलाई रंगशालामा प्रवेश नदिए पनि पर्खालबाहिर सयौँ मानिसहरु मापदण्ड उल्लंघन गर्दै खेल हेरे।

यसरी सिलसिलेवार स्वास्थ्य मापदण्ड उल्लंघन गर्दा थप जोखिम बढेको स्वास्थ्य विज्ञहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell