स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग पराजित भएको छ। सन मामेस स्टेडियममा सम्पन्न खेलमा एट्लेटिको मड्रिड घरेलु टोली बिल्बाओसँग २-१ गोलअन्तरले पराजित भएको हो।
अलेजान्द्रो रेमिरोको गोलमा खेलको ८ औं मिनेटमै अग्रता बनाएको बिल्बाओ पहिलो हाफमा एक गोलले अघि रह्यो दोस्रो हाफमा एट्लेटिको मड्रिडका स्टेफन साभिकले ७७ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। तर त्यस्को घरेलु टोलीका इनिगो मार्टिनेजले ८६ औं मिनेटमा गोल फर्काए। र, खेल बिल्बाओले आफ्नो पक्षमा पार्यो।
त्यस्तै गएराति नै भएको अर्को खेलमा बार्सिलोनाले भिल्ला रियललाई हरायो। स्टेडियो डे ला सेरामिकामा सम्पन्न खेलमा एन्टोनी ग्रिजमनको दोहोरो गोलको सहायतामा बार्सिलोनाले २-१ अन्तरले जित निकालेको हो।
खेलमा सामुएल चुकवुएजको गोलमा २६ औं मिनेटमा घरेलु टोलीले अग्रता बनाएको थियो। तर बार्सिलोनाका लागि ग्रिजमनले २८ औं मिनेटमा खेल बराबरीमा ल्याए भने ३५ औं मिनेटमा अग्रताससमेत दिलाए। र, दोस्रो हाफमा गोल नहुँदा बार्सिलोना २-१ ले विजयी भयो।
जितसँगै बार्सिलोना ३२ खेलबाट ७१ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ भने पराजय पछि ३३ खेल खेलको एट्लेटिको ७३ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा ३३ खेलबाट ७१ अंक जोडेको रियल मड्रिड छ।