सुर्खेत : कर्णाली प्रदेशमा बुधवार ८८ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा ८६ जनामा संक्रमण पुष्टि भयो। बिहीवार पनि एक सय ६ जनाको नमुना परीक्षण गरिएकोमा ८७ जनामा संक्रमण भेटियो। शुक्रवार १५६ जनाको परीक्षण गरिएकोमा १२६ जनामा देखियो कोरोना संक्रमण। त्यसैगरी आइतवार परीक्षण गरिएका ८९ जनामध्ये ७० जनामा संक्रमण पुष्टि भयो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा दैनिक पीसीआर परिक्षण गरिएकामध्ये ८० प्रतिशत बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ।
स्थानीय स्तरमै तीव्र रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न चुनौती थपिएको छ।
‘पछिल्ला दिनहरुमा गरिएको परीक्षणमा सरदर ८०–९० प्रतिशतको हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ।’ प्रदेश अस्पतालका चिकित्सक केएन पौडेल भन्छन्, ‘अझै पनि हामी स्वास्थ्य सुरक्षामा गम्भीर बनेनौँ भने भयावहको स्थिति आउन सक्छ।’
पुष्टि हुने पछिल्ला संक्रमित बिरामीमध्ये होमआइसोलेसन र अस्पतालमा गरी चार सय ११ जना संक्रमित रहेका छन्।
सबैभन्दा बढी सुर्खेतका तीन सय २९ जना छन्। त्यस्तै, दैलेख, सल्यान, र जाजरकोटमा समेत छिटफुट संक्रमण पुष्टि भइरहेको छ।
लक्षणसहितका अधिकांश विरामी प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा राखेर उपचार भइरहेको छ। जिल्लास्थित अस्पतालहरुले पनि स्रोत, साधन र जनशक्तिको उपलब्धता अनुसार उपचारमा सघाइरहेका छन्।
यद्यपि, जुम्ला र सुर्खेतका ठुला अस्पतालमा विरामीको संख्या बढी छ।
अस्पतालको आइसीयूर भेन्टिलेटरमा राखिएका बिरामीलाई अक्सिजन बिना उपचार सम्भव नहुने बताएका चिकित्सले संक्रमण पुष्टि हुने दर यही रफ्तारमा बढ्दै गए अस्पतालको स्रोत साधन अभाव हुने देखिएको छ।
‘अहिले पनि हाम्रो अस्पतालमा बिरामी भरिसकेको अवस्था छ,’ प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का भन्छन्,‘अधिकांश संक्रमित बिरामीहरुलाई अक्सिजन दिनुपर्ने अवस्था छ, जसले गर्दा अब आईसीयू, बेड, भेन्टिलेटर, र अक्सिजनले थेग्न मुश्किल छ।’
आफ्नै अक्सिजन प्लान्ट रहेको जुम्ला र प्रदेश अस्पतालमा पर्याप्त उत्पादन भने गर्न सकिरहेका छैनन्। प्रदेश अस्पतालमा दैनिक ५० सिलिण्डर खपत हुने गरेको छ भने, ४०–४५ जना बिरामीलाई मात्रै उपचार गर्न सकिने जोहो छ। त्यसैले तत्काल अक्सिजन प्लान्ट सञ्चालनका लागि पहल गर्न आवश्यक छ।
‘अहिले ४०–४५ जना विरामीलाई मात्रै अक्सिजन दिएर उपचार गर्ने गरिएको छ।’ निर्देशक खड्काले भने,‘अधिकांश बिरामीलाई अक्सिजन दिनुपर्ने अवस्था देखा परिरहेको छ, त्यसैले पनि थप अक्सिजन प्लान्ट तत्काल सञ्चालनमा ल्याउनुपर्ने आवश्यक छ।’
प्रदेशमा आईसीयू, भेन्टिलेटर र अक्सिजन जस्ता अतिआवश्यक पूर्वाधारको अभाव छ। उपचार सामग्री, उपकरण र जनशक्ति अभावले स्थिति बिग्रिदै जानेमा चिकित्सकको चिन्ता छ।
‘हाम्रो (अस्पताल) क्षमताले भ्याएसम्म गरिरहेका छौँ, हिजो आजको गतिमा संक्रमण दर बढ्दै गए अहिले भइरहेको स्रोत, साधन र जनशक्तिले धान्न सकिदैँन्, सरकारसँग बजेटको लागि पटक पटक माग गरिरहेका छौँ।’ निर्देशक खड्का भन्छन्,‘सरकारी प्रक्रियाको ढिलासुस्ती हुदाँ अस्पतालले गर्नुपर्ने पूर्वतयारीमा केही ढिला हुनसक्छ, तर, हामीले गर्नुपर्ने काम लाग्दो पुग्दो गर्छौ।’
जनशक्ति अभावले पीसीआर मेसिन बन्द
प्रदेश सरकारले प्रदेशको सुर्खेत, दैलेख, जुम्ला, र रुकुमपश्चिममा गरी चार वटा कोरोना विशेष अस्पताल तोकेको छ। संक्रमण भए नभएको पीसीआर परीक्षणकालागि समेत यि चार वटै अस्पतालमा पीसीआर मेसिन जडान गरिएको छ। तर, सञ्चालन भने, सुर्खेत र जुम्लामा मात्रै छन्।
‘कर्णालीमा चार वटा पीसीआर मेसिन जडान गरिएको मध्ये अहिले सुर्खेत र जुम्लामा मात्रै सञ्चालन छ,’ स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले भने, ‘मेसिन चलाउन प्राविधिक बाहिरबाट ल्याएका थियौँ, उनीहरु गएपछि अहिले दैलेख र रुकुमपश्चिमको मेसिन बन्छ छ।’
पछिल्लो समय संक्रमण दर बढ्दै गईरहेकाले बन्द रहेका मेसिनसमेत सञ्चालनमा ल्याउने गृहकार्य भईरहेको उनले बताए।
प्रदेशका जिल्ला अस्पतालहरुको अवस्थासमेत कमजोर हुँदा संक्रमितको उपचारमा समस्या छ।
प्रदेशमा नीजि र सरकारी अस्पताल गरी ७२ आईसीयूर ३४ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको निर्देशनालयका निर्देशक डा. खड्काले जानकारी दिए।
रोकिएनन् गाउँ फर्किने
पछिल्लो समय भारतमा कोरोनाको त्रास बढेसँगै रोजगारीका लागि गएका कर्णालीवासी फर्किनेक्रम बढेको छ। प्रदेशको प्रवेशद्वार सुर्खेतमा दैनिक सयौँको संख्या भित्रिएपनि संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारी निकायको पूर्वतयारी भने निकै कमजोर छ।
तीव्र संक्रमण फैलिएको भारतका विभिन्न शहरहरुबाट विना सावधानी संक्रमणको आंशकितहरु सिधै गाउँ पस्ने गरेका छन्।
सीमा नाकाहरुमा हेल्थ डेक्स सञ्चालनमा ल्याइए पनि भारतबाटै फर्किएकाहरु ढाँटेर लुकीछिपी छिर्नेको एकिन छैन् भने दैनिक सरदर साढे चार सय बढीको संख्यामा कर्णाली प्रदेश भित्रिएका छन्। प्रदेशको प्रवेशद्वार मुख्य नाका बबई, सल्यानको कपुरकोट र पञ्चपुरीको कुईने नाका हुदैँ पछिल्लो समय भारतबाट फर्किनेक्रम बढेको हो।
‘सार्वजनिक यातायातको साधन चलिरहेको हुन्छ, कतिपय झुट बोलेर पनि आउनुहुन्छ,’ जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेले भने,‘इमान्दारिताका साथ नढाँटेर भन्नु भएकाहरुको आवश्यक जाँच गरेर सल्लाह सुझाव दिने गरिरहेका छौँ।’
भारतबाट आउने नागरिक सिधै गाउँ जान थालेपछि स्थानीयस्तरमा जोखिमको त्रास बढ्दै गईरहेको छ।