PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

तिलोत्तमामा करिब आठ हजारले भरे सुकुम्बासी आयोगको फारम



पूजा पन्थी

तिलोत्तमामा करिब आठ हजारले भरे सुकुम्बासी आयोगको फारम

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा करिब आठ हजार जनाले भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फारम भरेका छन्। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेका सात हजार ९ सय १८ जनाले लगत संकलन फारम भरेको नगरपालिकाका शाखा अधिकृत माधवप्रसाद पोखरेलले जानकारी दिए।

तिलोत्तमाका ६१९ जनाले भूमिहीन दलित, एक हजार ७४० जनाले भूमिहीन सुकुम्बासी र पाँच हजार ५५९ जनाले अव्यवस्थित बसोबासीको लगत संकलन फारम भरेका हुन्। नगरपालिकाबाट प्राप्त  विवरण अनुसार सबैभन्दा बढी वडा नं. ११ बाट आयोगको लगत संकलन फारम भरिएको छ।

यहाँ १८० जना भूमिहीन दलित, ५३५ जना भूमिहीन सुकुम्बासी र दुई हजार ७६ जना अव्यवस्थित बसोबासी गरी दुई हजार ७९१ जनाले फारम भरेका छन्। वडा नं. १७ मा सबैभन्दा कम भूमिहीन दलित ७, भूमिहीन सुकुम्बासी १० र अव्यवस्थित बसोबासी ३२ गरी जम्मा ४९ जनाले फारम भरेका छन्।

तिलोत्तमा नगरपालिकाले भूमि सम्बन्धी समस्या समाधान आयोगको इकाई कार्यालय स्थापना गरेर आयोगको सूचनाअनुसार माघ ९ गतेबाट लगत संकलन कार्य सुरु गरेको थियो। कतिपय वडाले टोल–टोलमैं पुगेर लगत संकलनको काम गरेका थिए।

त्यसको लागि सम्बन्धित वडा सचिवलाई जिम्मेवारी दिइएकोमा जनप्रतिनिधिहरुको साथैं वडास्तरीय सहजीकरण समितिको सहयोगमा लगत संकलन गरिएको थियो।

शाखा अधिकृत पोखरेलका अनुसार जग्गा नापजाँचको लागि आयोगले खटाएका सर्वेक्षक तथा अमिनबाट फिल्ड निरीक्षणको काम सकिएकोमा वडा नं. ११ मा कन्ट्रोल प्वाइन्ट स्थापनाको लागि पिलर समेत राखिँदै छ।

फिल्ड कार्यको लागिको लागि आवश्यक उपकरणको व्यवस्थापन, नापजाँचको लागि जनशक्ति व्यवस्थापन भैसकेको नगरपालिकाले जनाएको छ। शाखा अधिकृत पोखरेलका अनुसार अमिन र सर्वेक्षक गरी १६ जनाको जनशक्ति नापजाँचको लागि खटिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell