PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

नेपालसँग जोडिएका भारतीय राज्यहरु दोस्रो लहरले बिजोग अवस्थामा, नेपालमा जोखिम थप बढ्यो



पहिलोपोस्ट

नेपालसँग जोडिएका भारतीय राज्यहरु दोस्रो लहरले बिजोग अवस्थामा, नेपालमा जोखिम थप बढ्यो
Photo: India TV

पहिलो लहरको तुलनामा भारतका नेपालसँग जोडिएका राज्यहरुमा कोभिड-१९ को दोस्रो लहर डरलाग्दो गरी सल्किएको छ। औषधिदेखि अक्सिजनसम्मको चरम अभाव खेपिरहेको भारतमा जति संकट गहिरिन्छ, त्यत्तिकै जोखिमतिर धकेलिन्छ नेपाल।

यतिखेर नेपालमा पनि संक्रमितको संख्या बढिरहेको छ। भारतमा त दैनिक ३ लाख भन्दा बढीमा संक्रमण देखिएको छ। मृतकको संख्या पनि दैनिक दुई हजारभन्दा माथि छ। यस्तो अवस्थामा भारतसँगको सीमाबाट आवतजावत जारी नै छ। भारतका बिहार र उत्तर प्रदेशबाट संक्रमण नेपालतिर बिस्तार सहजै भएको थियो, पहिलो लहरमा पनि। यसपाला उत्तर प्रदेश दोस्रो प्रभावित राज्य बन्दैछ भारतको।

उत्तराखण्ड र पश्चिम बंगालको पनि बेहाल नै छ। विभिन्न राज्यमा लकडाउन र प्रतिबन्धहरु लगाइएसँगै गाउँ फर्कनेहरुको भिड बढेको छ। त्यसमा भारत पुगेका नेपालीहरु समेत छन्। जसकारण भारतीय राज्यहरुमा देखिएको यो संकटले नेपाल पनि चेपुवामा पर्दै गएको छ।

बिहारको बेहाल

नेपालसँग सबैभन्दा लामो सीमा जोडिएको बिहार कोभिड-१९ का कारण यसपाला भने बेहाल अवस्थातिर लाग्दैछ। कोरोना भाइरसको पहिलो संक्रमणताका भारतका अन्य राज्यहरुको तुलनामा बिहारमा संक्रमणदर निकै कम थियो, मृत्यु दर पनि अन्यत्रभन्दा थोरै। तर, कोभिड-१९ को अहिलेको लहरले भने बिहारलाई पनि नराम्ररी झस्क्याएको छ।

दैनिक भाष्करका अनुसार बिहारमा १५ दिनको अन्तरालमा कोरोना भाइरस संक्रमितको संख्यामा चार गुणाले बढेको छ। ठीक विपरित यसविरुद्धको खोप लगाउने क्रममा ८० प्रतिशत कमी आएको छ। यी दुई तथ्याङ्कले बिहारमा सकसको स्थिति पैदा गरेको पुष्टि गर्छ।

बिहारको राजधानी पटना सबैभन्दा बढी संक्रमण भोगिरहेको छ। त्यसपछि गयामा संक्रमित संख्या अधिक भेटिन थालेको छ। पहिलो लहरको संक्रमण जारी रहेको बेला बिहारमा विधानसभा निर्वाचन समेत भयो। जसमा नागरिकलाई नि:शुल्क खोप प्रदान गर्ने घोषणा भारतीय जनता पार्टीले गरेको थियो। तर, हालसम्म बिहारमा पर्याप्त संख्यामा खोप पुग्न सकेको छैन।

उत्तर प्रदेश : दोस्रो डरलाग्दो अवस्थाको राज्य

बीस करोडभन्दा बढी जनसंख्या भएकाले उत्तर प्रदेशमा सबैको चासो हुने गर्छ। कोरोनाको पहिलो उछालमा धेरै असर नपरे पनि यसपाला भने उत्तर प्रदेशको अवस्था नाजुक छ। दोस्रो उछालमा महाराष्ट्रपछि सबैभन्दा बढी प्रभावित राज्य बनेको छ युपी जहाँ एकै दिन २८ हजार २८७ नयाँ संक्रमित थपिएका छन्। एकै दिन १६७ जना संक्रमितको मृत्युको तथ्याङ्कले पनि त्यहाँको बेहालको संकेत गर्छ।

कोरोनालाई हल्का रुपमा लिएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत संक्रमित भए। पछिल्लोपटक कुम्भमेलामा जाँदा धेरै संख्यामा नेपालीहरु उत्तरप्रदेश पुगेका थिए। नेपालसँग सीमा जोडिएको दोस्रो ठूलो राज्य भएकाले त्यहाँको लहरले नेपालसँग सम्बन्ध राख्छ।

मध्यदेखि पश्चिम नेपालसँग जोडिएको उत्तर प्रदेशमा पाँच दिनमा मात्रै १ लाखभन्दा बढी एक्टिभ केस थपिएको छ। लखनउ, वाराणसी, प्रयागराज, कानपुर र गोरखपुरमा सबैभन्दा बढी संक्रमित छन्। यी जिल्लाहरु हुँदै नेपालीको आवातजावत हुने गर्छ, आप्रवासी कामदार, स्वास्थ्य उपचार र तीर्थाटनकै सन्दर्भमा पनि।

उत्तराखण्ड पनि खराब अवस्थातिरै

भारतको उत्तराखण्ड अघिल्लो पटक कोभिड-१९ संक्रमणमा खासै चर्चामा थिएन। ज्यादै न्युन संख्यामा संक्रमितहरु पहिचान भएका थिए। त्यसैले अवस्था धेरै बिग्रिन पाएन। तर, आइतवारमात्र ४४ जना संक्रमितको मृत्यु हुनुले अहिलेको लहर कति भयपूर्ण छ भन्ने देखाएको छ। ४४ जनाको मृत्यु हुँदा ४ हजार भन्दा धेरै संक्रमितको पहिचान भएको छ उत्तराखण्डमा।

कुम्भ मेला आयोजना भएको उत्तराखण्ड अहिले कोरोना संक्रमणको हटस्पट नै बनेको छ। कुम्भबाट फर्किएका अधिकांशमा संक्रमण देखिएकाले त्यहाँबाट फर्किएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरिएको थियो। पूर्व राजा ज्ञानेद्र शाह कुम्भ मेलमा सहभागी हुन उत्तराखण्ड पुगेका थिए। नेपाल फर्किएपछि उनीसहित पूर्व रानी कोमल शाहमा समेत संक्रमण देखिएको छ।  

नेपालसँग सीमा जोडिएको भए पनि आवत जावतका मामिलामा बिहार र उत्तर प्रदेश जति सहज बाटो भने यहाँ छैन। महाकाली नदीले दुई देशको सीमा तय गरेको छ, सीमा वारपार हुन कठिन छ। तर, पश्चिम नेपालबाट नेपालीहरु उत्तराखण्ड राज्य हुँदै भारतका विभिन्न ठाउँमा कामका लागि जाने र फर्कने गर्छन्।

पश्चिम बंगाल पनि चेपुवामा

कोलकातामा हरेक दुई जनामा आरटी पीसीआर परीक्षण गर्दा एक जनामा पोजेटिभ रिजल्ट आएको खबर बाहिरिनुले पश्चिम बंगालको हालत व्याख्या गर्छ। विधानसभाको चुनावी सरगर्मीसँग कोरोना भाइरसको तीब्र फैलावटले यो राज्यलाई पनि नराम्ररी प्रभावित पारेको छ। अघिल्लो महिनामा परीक्षण गर्दा हरेक २० जनामध्ये एकजनामा मात्र कोभिड-१९ पोजेटिभ देखिन्थ्यो। तर, अहिलेको लहर यसरी बढेको छ कि नियन्त्रण गर्न असम्भव बन्दै गइरहेको छ।

कोलकाता र अन्य शहरी क्षेत्रमा परीक्षण गरिएकामध्ये ४५ देखि ५५ प्रतिशतमा कोभिड १९ पोजेटिभ देखिएको छ भने अन्य क्षेत्रमा २४ प्रतिशतमा संक्रमण पुष्टि भइरहेको छ। दैनिक १५ हजार भन्दा बढी संक्रमित भेटिन थालेको छ बंगालमा। पूर्वी नेपालसँग सीमा जोडिएको यो प्रदेशबाट आवत जावत बिहार र युपी जति त छैन तर जति छ, जोखिमपूर्ण नै छ।

पश्चिम बंगालमा कोरोना सल्कनुको मुख्य कारण चुनावी सभा भएको छ। धेरै मतदाता भएको राज्यभन्दा कम मतदाता रहेको बंगालमा ८ चरणमा निर्वाचन गर्ने निर्णय माथि मुख्यमन्त्री ममता बनर्जीले आपत्ति जनाएकी थिइन्। नरेन्द्र मोदी सरकारले कोरोना संक्रमणबिच निर्वाचन लब्याएको भन्दै उनले निर्वाचनलाई चाँडै सकाउन माग गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell