काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी बिहीवार (बैशाख १६ गते) बिहान ६ बजेदेखि लागू हुने गरी बैशाख २२ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन्।
सो अवधिमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना लगायत सञ्चालन गर्न नपाइने उनले बताए। त्यस्तै, विवाह, व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र सहभागी हुन सकिने बताइएको छ।
प्रशासनले आदेश जारी गर्दै भनेको छ, ‘सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राति १२ बजेसम्म काठमाडौं जिल्लाभर रोक लगाउने। अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौं जिल्ला भित्र प्रवेशमा रोक लगाउने।’
एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसनलगायत अत्यावश्यक सेवाहरु भने स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइनेछ।
यसैगरी, सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइनेछ। विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर मात्र सञ्चालन गर्न पाइने बताइएको छ।
अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई लिएर एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने बताइएको छ।
आदेशमा भनिएको छ, ‘माथि उल्लेखित बाहेक अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने बिरामी र कुरवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनु पर्ने अवस्था)का लागि सवारी साधन प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनु पर्ने छ।’
खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल व्यवसाय बाहेकका अन्य पसल व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्रीहरुका पसल व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुल्ला गर्ने प्रशासनले उल्लेख गरेको छ। डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि बेलुका ५ बजे सम्म सञ्चालन गर्न प्रशासनले भनेको छ।
सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिइने बताइएको छ। त्यस्तै, पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइने छ। प्रशासनले काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने बताएको छ।
निषेधाज्ञाको उल्लंघन गरेमा प्रचलित कानुन अनुसार कारबाही हुने प्रशासनले जनाएको छ।

.jpg)
