PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

काठमाडौंमा बढ्दो कोरोना कहर : अस्पताल भरिँदा बिरामीलाई सकस

काठमाडौंमा बढ्दो कोरोना कहर : अस्पताल भरिँदा बिरामीलाई सकस

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: काठमाडौं उपत्यकामा तीनै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको छ। कोभिड १९ को संक्रमण ह्वात्तै बढेपछि प्रशासनले संक्रमणको 'चेन ब्रेक' गर्न भन्दै निषेधाज्ञा जारी गरेको हो।

सरकारले यसअघि नै स्वास्थ्य मापदण्ड पालना गर्न र २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको थियो। तर सरकारी निकालयबाट नै स्वास्थ्य मापदण्ड उल्लंघन भयो। जनस्तरबाट पनि स्वास्थ्य मापदण्ड पालना भएन। फलस्वरुप उपत्यकामा संक्रमितको संख्या केही दिनयता दैनिक हजार नाघ्यो।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १९ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १५ सय ६७ जना, ललितपुरमा २२३ जना र भक्तपुरमा १२२ जनामा संक्रमण देखिएको हो। देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। देशभर पहिचान भएका कूल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ५३.८ प्रतिशतमा संक्रमण देखिएको छ।

संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा बिरामीको चाप पनि दैनिक बढिरहेको छ। सरकारी र निजी अस्पतालका कोभिड वार्ड बिरामीले भरिएका छन्। जसकारण थप संक्रमण बढ्दै गए उपचार प्रणालीले धान्नै नसक्ने अवस्था सिर्जना भएको चिकित्सकहरु बताउँछन्।

टेकुस्थित शुक्रराज ट्रपिकल सुरुवा रोग अस्पताल पनि कोभिड बिरामीले भरिएको छ। वार्ड सबै भरिँदा नयाँ बिरामीहरु भर्ना हुन पाएका छैनन्। अरु अस्पतालमा भेन्टिलेटर नहुँदा शुक्रराजमा रेफर गर्ने गरिएको छ। तर अस्पतालमा आइसियू र भेन्टिलेटर समेत भरिँदा सिकिस्त बिरामीहरुले समेत उपचार पाउन सम्भावन कम हुँदै गएको छ।

हाल आउने धेरै संक्रमितहरुलाई अक्सिजन दिँदै गरिएको छ। हाल अस्पतालमा आउने बिरामीहरुलाई सकेसम्म अक्सिजन उपलब्ध गराउने प्रयास भइरहेको छ। भारतमा अक्सिजन अभाव हुँदा कोरोना संक्रमितको उपचारमा समस्या आएको र बिरामीहरुको मृत्यु हुने क्रम बढ्दो छ। नेपालमा पनि संक्रमण बढ्दै गएको र आउने दिनमा अक्सिजन अभाव हुन सक्ने भन्दै पूर्व तयारी गर्नुपर्नेमा जनस्वास्थ्यविद्हरुले जोड दिँदै आएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell