1.jpg)
बुटवल : कोभिड १९ संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले रुपन्देहीमा निषेधाज्ञाको तयारी गरेको छ। दैनिक संक्रमित दर र मृत्यु हुनेको संख्या बढ्दै गएपछि रुपन्देही प्रशासनले निषेधाज्ञाको तयारी गरेको हो।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले मंगलबार स्थानीय तहका प्रमुखहरु, व्यवसायी र सञ्चारकर्मीहरुसँगको छलफलपछि के गर्ने भन्ने निर्णय गर्ने जानकारी दिए।
पहाडी, हिमाली जिल्लामा सक्रिय संक्रमित २ सय र काठमाडौं उपत्यका र तराईमा सक्रिय संक्रमित संख्या ५ सय पुगेपछि सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्नेगरी संघ सरकारले अधिकार दिएको छ। संघ सरकारले कम्तीमा १५ दिन निषेधाज्ञा लगाउन भनेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमणको अवस्था अध्ययन गरेर स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन सक्ने अधिकार सोमबारको मन्त्रिपरिषद् बैठकले दिएको बताए।
स्थानीय प्रशासनले अकस्मात निषेधाज्ञा जारी गर्न भने पाउँदैनन्। सर्वसाधारणलाई आफ्नो ठाउँमा कतै जानुपर्ने भएमा केही दिन समय दिनुपर्ने गरी निषेधाज्ञा जारी गर्न सरकारले निर्देशन दिएको छ। यसो हुँदा रुपन्देहीमा यही वैशाख १६ गतेपछि निषेधाज्ञा लागू हुनेगरी निर्णय हुनसक्ने सम्भावना छ।
काठमाडौंमा वैशाख १६ देखि निषेधाज्ञा लगाउने निर्णय भएकाले १६ गतेसम्म रुपन्देही आउने र अन्य जिल्लामा जानका लागि रुपन्देही आउनेहरुलाई अन्य जिल्ला प्रवेश दिएर निषेधाज्ञा लगाउनेगरी छलफल चलिरहेको जिल्ला प्रशासन कार्यालय स्रोतले बताएको छ।