PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निषेधाज्ञाले तर्सायो काठमाडौं उपत्यकामा आएर बस्नेलाई : एकै दिनमा ५० हजारले उपत्यका छाडे

निषेधाज्ञाले तर्सायो काठमाडौं उपत्यकामा आएर बस्नेलाई : एकै दिनमा ५० हजारले उपत्यका छाडे

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : 'घर फर्किनको लागि केही दिन दिएका छौँ।'

सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको यो भनाई समाचारको शीर्षक बन्यो।सिडिओ पराजुलीले यसो भन्नुको कारण काठमाडौं उपत्यकाभित्र जारी भएको निषेधाज्ञाको सन्दर्भ नै थियो।

उनको भनाइ सार्वजनिक हुनुअघि नै काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका सिडिओ बसेर बिहीबारदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गर्ने निर्णय गरिसकेका थिए। तर, आधिकारिक निर्णय सार्वजनिक भइसकेको थिएन।

यही खबर रुपन्देहीबाट अध्ययनका लागि काठमाडौं आएर बसेकी विद्या ढकाल र दुर्गा रानाको कानमा पर्‍यो। काठमाडौंमा लकडाउन भए घर फर्किनु उत्तम ठाने। अनलाइनबाट नै बसको टिकट काटे। मङ्गलवारका लागि टिकट सहजै पाइयो। लगत्तै उनीहरूको साथीहरूले पनि घर जाने निर्णय गरे। बेलुकी अनलाइनमार्फत् टिकट काट्न खोजे। तर, बसको टिकट पाइएन। किनकि साँझसम्म उपत्यकाभित्र निषेधाज्ञा गर्ने निश्चित भइसकेको थियो।

जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि एक साताको लागि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ। मन्त्रिपरिषद्को बैठकले एक साता मात्रले नपुग्ने भन्दै १५ दिनसम्म निषेधाज्ञा गर्न निर्देशन दिएको छ। निषेधाज्ञा भर सार्वजनिक तथा निजी सवारी चल्ने छैनन्। अन्य व्यापार व्यवसायमा पनि बन्देज लगाइएको छ। जसले गर्दा काठमाडौं उपत्यकाभित्र अध्ययन, व्यापार र अन्य सिलसिलामा आएका मानिसहरू गाउँ फर्किने तयारीमा छन्। जुन कुराको पुष्टि मङ्गलवार काठमाडौंमा रहेका विभिन्न काउन्टर र उपत्यका बाहिरिने नाकाहरूको दृश्यले छर्लङ्ग पार्‍यो। काउन्टरमा टिकट लिने मानिसको घुइँचो छ। बस पनि यात्रुले भरिभराउ भएर बाहिरिएका छन्।

त्यसो त महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कले पनि बाहिरिनेको सङ्ख्या बढेको देखिन्छ। 'अघिल्लो दिनको तुलनामा यात्रुको सङ्ख्या बढेको छ। आज पनि बढ्ने देखिएको छ,' महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले भने। अघिल्लो दिनको तुलनामा सोमबार उपत्यका बाहिरिने सावरीको सङ्ख्या पनि ९ सयले बढी भएको प्रहरीको तथ्याङ्कले देखाएको छ।

वैशाख १० गतेदेखि सोमबारसम्म १ लाख ७८ हजार ८ सय जनाले काठमाडौं उपत्यका छोडेका छन्।

आज दिउँसोसम्म नै करिब ५० हजार मानिसले उपत्यका छोडेको प्रहरीको आङ्कलन छ। काठमाडौंमा कोभिड १९ को सङ्क्रमण त्यसपछि जारी निषेधाज्ञाले गर्दा मानिस आफ्नै घरमा सुरक्षित महसुस गरेर घर फर्किएको बताइरहेका छन्।

जोरपाटीमा बस्दै आएका युवराज भट्टराई पनि घर फर्किन टिकट लिन पुगेका थिए। उनी भन्छन्,'यहाँ निषेधाज्ञामा के गर्ने। गाउँमा कम्तीमा खान त पाइन्छ। सङ्क्रमण पनि यहाँको जस्तो नहोला नि।'

 

 

 

 



ट्रेन्डिङ पोस्ट

Ncell