PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कोरोना भाइरस नियन्त्रण गर्न सक्रिय बन्यो वाग्मती प्रदेश सरकार



निशा गुरुङ

कोरोना भाइरस नियन्त्रण गर्न सक्रिय बन्यो वाग्मती प्रदेश सरकार

हेटौँडा : कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले संक्रमणलाई नियन्त्रण गर्न प्रदेशका १३ वटै जिल्लामा सक्रियतापूर्वक काम गरिरहेको बताएको छ। कोरोना नियन्त्रण गर्नका लागि स्थानीय तहसँग सहकार्य गरेर चेतनामूलक कार्यहरु गरिरहेको  सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता डा पुरुषोत्तम सेढाईँले बताए।

सामाजिक विकास मन्त्रालयले कोभिड परीक्षणलाई सबै क्षेत्रमा सहज ढंगले उपलब्ध गराउने उद्देश्यले वाग्मती प्रदेश अन्तर्गत ५ स्थानमा पीसीआर मेसिन राखेर परीक्षण गरिरहेको प्रवक्ता डा सेढाईँले जानकारी दिए। पोजिटिभ देखिएकाको कन्ट्याक्ट ट्रेसिङ गर्नको लागि वाग्मती प्रदेशका प्रत्येक जिल्लामा ३ देखि ९ जनाको स्ट्याण्डबाई टिम रहेको उनले बताए।

दोस्रो लहरको कोभिड संक्रमितहरुलाई होम आइसोलेसन उपयुक्त नहुने भएकाले संक्रमितहरुका लागि प्रदेशभर १ हजारदेखि १२ सय सम्मको बेड, १ सय ६० भेन्टिलेटर र ४ सय १५ आइसीयूसहितको बेड तयारी अवस्थामा राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सामाजिक विकास मन्त्रालयले वाग्मती प्रदेश अन्तर्गत ५ वटा अस्पतालमा आइसीयूसहितको भेन्टिलेटरनको व्यवस्था गरेको जनाएको छ।

४ जिल्लाका अस्पतालमा अक्सिजन प्लान्टको स्थापना

वाग्मती प्रदेशका ५ वटा अस्पतालमा सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्टको स्थापना गरेको छ। मन्त्रालयका  अनुसार नुवाकोट, सिन्धुली, त्रिशुली, भक्तपुर र धादिङमा आफनै अक्सिजन प्लान्ट उत्पादन भएको हुँदा बाहिरबाट अक्सिजन लानुपर्ने समस्या नआउने र सबै अस्पतालमा अक्सिजनसहितको उपकरणहरु तयारी अवस्थामा राखिएको छ। संक्रमितहरु बढेको हुनाले चिकित्सक सहित थप जनशक्तिहरु थप्ने तयारी रहेको डा सेढाईँले जानकारी दिए।

प्रदेशको राजधानीका दुई स्थानमा आइसोलेसन

वाग्मती प्रदेशको राजधानी हेटौँडाका दुई स्थानमा आइसोलेसन सञ्चालनमा ल्याएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रष्ठिानले हेटौँडा अस्पतालमा हाल १० बेड र हेटौँडा उपमहानगरपालिकाको नेतृत्वमा हेटौँडा उपमहानगरपालिका ६ गौरीटारमा १५ बेडको अस्पताल सञ्चालनमा ल्याइएको छ। कस्ले गर्‍यो भन्दा पनि सेवा उपलब्ध छ कि छैन भन्ने कुरा ठूलो रहेको भन्दै डा सेढाईँले राजधानी हेटौँडामा जनता सुविधाबाट बन्चित नभएको दावी गरेका छन्।

कोभिड व्यवस्थापनका लागि ३६ करोड ९१ लाख बजेट विनियोजन

सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा कोभिड व्यवस्थापनका लागि ३६ करोड ९१ लाख बजेट विनियोजन गरेको प्रवक्ता डा सेढाईँले जानकारी दिए। गत वर्ष २०७७/७८ मा कोभिड व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयको २० करोड बजेट खर्च भएको उनले बताए।

निषेधाज्ञा नगर्ने

प्रवक्ता डा सेढाईँले निषेधाज्ञा भनेको अन्तिम चरण भएको हुनाले त्यो चरणसम्म पुग्न नपरोस् भनेर नियन्त्रणका सबै उपायहरु अवलम्वन गर्ने बताए। कोभिडलाई कसरी नियन्त्रण गर्ने बारे बुधवार प्रदेशका सम्पूर्ण सांसदसंग बसेर छलफल गरेको उनले जानकारी दिए।

मुख्य कुरा व्यक्ति-व्यक्तिबीचको दुरी कायम गर्न जरुरी रहेको बताउँदै उनले भने, ‘प्रत्येक  क्षेत्रबाट नियन्त्रणका लागि पहल गर्नु पर्छ।’

स्वास्थ्य सम्बन्धी सबै किसिमका मापदण्ड अपनाउन पर्ने र अपनाउन सकेमा कोभिड नियन्त्रणमा आउने दावी उनले गरे।

कोभिड नियन्त्रणमा ल्याउन सकेमा लकडाउनको आवश्यकता नै  नपर्ने बताउँदै डा सेढाईँले भने, ‘विद्यालय क्षेत्रमा धेरै बहस भएको र अहिले बहस टुंगेको यति खेर विद्यालय सञ्चालन गर्नु भनेको सबैको लागि घातक हुने थियो।’

मन्त्रालयले चेकिङमा पनि सुरक्षा निकाय रेडक्रसहरुसँग समन्वय गरेर अभियान सञ्चालन गरी माक्स नलगाउनेहरुलाई माक्स लगाउन आग्रह गरिहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell