वीरगंज : जिल्ला प्रशासन कार्यालय पर्साले बैशाख १६ गते बिहान ४ बजेदेखि बैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। कोभिड-१९ संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए।
जसअनुसार अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न पाइने छैन। त्यसको साथै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय लगायत सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ।
विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जना सम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट अनुमती लिएर मात्र सहभागी हुन पाइने प्रशासनले बताएको छ।
त्यस्तै, मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोर मैला व्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दुधजन्य पदार्थ, पशुपन्क्षीको दाना लगायत ढुवानीका सवारी साधनहरु, आइसोलेसन एवं होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमती प्राप्त (पास) सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरु (दुई पाङ्ग्रे समेत) सञ्चालन नगर्न प्रशासनले आदेश जारी गरेको छ।
आदेशमा भनिएको छ, ‘खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय बाहेक अन्य सबै पसल, व्यवसाय हाललाई सञ्चालन नगर्ने। खाद्य वस्तुका पसल, व्यवसायहरु बिहान १० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरीरगराई खोल्न पाइने छ।’
वीरगंज ईनर्वा नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमन पूर्ण रुपमा रोक लगाइएको बताइएको छ। पर्साको ईनर्वा सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुऱ्याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेसनमा अनिवार्य बस्नु पर्ने प्रशासनले भनेको छ।
अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्था समेतका) कर्मचारी एवं सञ्चारकर्मीहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवत जावत गर्नुपर्ने बताइएको छ। मृत्यु संस्कार, बिवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यमा र विकास निर्माणका आयोजनासँग सम्बन्धित सामग्री एवं जनशक्तिले प्रयोग गर्ने सवारी साधनहरु जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र सञ्चालनमा ल्याउन सकिने आदेशमा उल्लेख छ।
निषेधाज्ञा आदेशको विपरित काम गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने प्रजिअ घिमिरेले बताए।


