PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सरकारको आशा गरौं भर नपरौं [सम्पादकीय]



पहिलोपोस्ट

सरकारको आशा गरौं भर नपरौं [सम्पादकीय]

भेरी अस्पतालको दुर्दशालाई मिडियाले बाहिर ल्यायो। अनि अस्पताल प्रशासनले माग्यो - करारमा चिकित्सक र स्वास्थ्यकर्मी। भेरीमात्र होइन सबैखाले अस्पतालहरु कोरोना भाइरस संक्रमितहरुले भरिएका छन्। नेपालका विभिन्न स्थानमा स्थानीय प्रशासनबाट निषेधाज्ञा त जारी भएको छ तर त्यसको पालना कसरी हुन्छ भन्न सकिन्न।

छिमेकी मुलुक भारतमा अक्सिजन र ओखती नपाएर मरिरहेका मानिसको शव विसर्जनका दृष्यहरु विभिन्न माध्यमबाट प्रवाह हुँदा एक किसिमको भय उत्पन्न भएको छ - कतै हामी पनि त्यही बाटोमा त छैनौं? भेरी अस्पतालका स्वास्थ्यकर्मी आफैँ कोभिड-१९ बाट थला पर्न थालेपछि जस्तो अवस्था देखियो। दिल्लीले बेहोरेको दुखान्तका कथाहरुको हाम्रो संस्करण पनि सुरु भएको अनुभूति हुन थाल्यो। यसपाला नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरुमा संक्रमणको प्रकोप उत्पात बढेको छ। यतिखेर धेरै नेपालीहरुको कामना छ - कोरोना भाइरसको संक्रमणमा भारतले जे बेहोरिरहेको छ, त्यो अवस्था नआवस्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्रोतालाई मुग्ध पार्नेगरी बोल्छन्। उनका भाषणले मानिसहरुलाई असाध्यै प्रभाव छाड्छ। कोरोना भाइरसको संक्रमणविरुद्ध दिपावली गरेर भजन गाउन मोदीले अपिल गर्दा भारत उज्यालियो। मोदीले साँझ थाल ठटाएर कोरोना भाइरस भगाउने 'सुत्र' फ्याँके। भारतमा कुच्चिने गरी थाल ठटाइयो। त्यसपछि कहिले चुनावी र्‍याली चल्यो त कहिले कुम्भको मेला। अध्यात्मिक चेतले भरिएका योगी झै देखिने मोदी सबैतिर सक्रिय भए। पश्चिम वंगालदेखि हरिद्वारसम्म जारी रह्यो भेला,धार्मिक गतिविधि अनि राजनीति।

कोभिड-१९ संक्रमणको पहिलो लहर आउँदा नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरु बिहार र उत्तर प्रदेश त्यति प्रभावित थिएनन् जति अन्य प्रान्त रहे। कुम्भ मेला भर्न पुगेका पूर्व राजा ज्ञानेन्द्र यतिखेर नर्भिक अस्पतालमा उपचाररत छन्। विश्वभर औषधि निर्यात गर्ने भारत यतिखेर मोदीको अध्यात्मिक चेतमा यसरी चुर्लुम्म डुब्यो कि, त्यहाँ कोभिड-१९ विरुद्ध भिड्ने तयारीभन्दा ज्यादा हिन्दुत्वको अभियान चल्यो, चुनावको अभियान चल्यो र कुम्भको स्नान चल्यो।

मोदीको भारतीयहरुलाई मदहोश बनाउने शैलीका अनुयायी हुन् प्रधानमन्त्री केपी शर्मा ओली। वाककलामा ओली पनि मोदी जस्तै गजब छन्। त्यसैले उनी किन कम हुन्थे मोदीभन्दा? मुलुकको सबैभन्दा ठूलो दल र कम्युनिस्ट पार्टीको कमान सम्हालिरहेका ओलीमा मोदीमा झै आध्यात्मिक चिन्तन यति प्रखर भएर उत्रियो कि उनले बालुवाटारबाट चितवनसम्म देवताको यात्रा निकालिदिए, लवालस्करसहित। मोदीले थाल ठटाउन र बत्ती बाल्न आग्रह गरेका थिए, ओलीले बेसार र अम्बाको पातको ब्रान्डिङ गर्न भ्याए।

'हाच्छिउँ साच्छिउँ' गर्देर कोरोनालाई लखेट्दिने उनको 'टिप्स' आफैँमा अद्भुत थियो। अध्यात्मिक चेतमात्र होइन, शक्ति प्रदर्शन पनि मोदीकै शैलीमा गर्न छाडेनन् ओलीले। आफ्नै पार्टीभित्रको गुटलाई देखाउन सत्ताले सडकमा प्रदर्शन गर्‍यो। त्यहाँ उनी सम्बोधन गर्न पुगे भलै वर्षदिन सिंहदरबार नै नटेकी 'देश हाँकिदिए'। थोरै मेहनत, धेरै चर्चा : मोदीको मन्त्र। त्यसैलाई गम्भीर रुपमा अनुशरण गरे - बनोस्, नबनोस् शिलन्यासका श्रृङ्खला चलिरहे। भलै सबैतिर कोभिडको नयाँ लहर आइरहँदा अस्पतालहरु कुन हालतमा गुज्रेलान् भन्ने खोजेनन् तर उद्घाटन भने जारी राखे। 

ओलीको मोदी मार्ग पछ्याउने रोचक शैली। त्यही शैलीलाई साथ दिने मन्त्रिमण्डलका सदस्यहरुको बाहुल्यता। स्थिति आजको अवस्थामा पुग्न किन धेरै समय लाग्थ्यो? स्वास्थ्य मन्त्रीका चेतावनीलाई शिक्षा मन्त्रीले सजिलै लत्याइदिए - 'विद्यालय बन्द गरेर हुन्छ? बन्द हुँदैन।' ओलीले बोलेपछि त्यहाँ जवाफदेहिता पाउनु दुर्लभ विषय हो। ओलीमात्र होइन, उनका मन्त्रिपरिषदका सदस्यहरुबाट पनि जवाफदेहिताको अपेक्षा गर्न सकिन्न। नेपाललाई ट्रान्जिट बनाएर विदेश उड्दै गरेका भारतीयको पीसीआर परीक्षणबारे स्वास्थ्य मन्त्रालय २४ घन्टा नबित्दै नीतिगत निर्णय उल्टयाउन बाध्य भयो तर त्यसको जवाफ कसैले दिनुपरेन। २५ जनाभन्दा बढी भेला हुन नपाउने आफ्नै सरकारको नीतिलाई बालुवाटार खेलाची गर्दै लत्याइरह्यो बारम्बार। र, कोभिड संक्रमण फैलनुमा चोर औला चाहिँ - सर्वसाधारणतिर।

जवाफदेहितालाई तिलाञ्जली दिँदै यसैगरी अगाडि बढिरहेमा नेपालको हालत भारतभन्दा चर्को नहोला भन्न सकिन्न। त्यसले निम्त्याउने संकटले मुलुकलाई थप दुर्दिनतिर धकेल्ने निश्चित छ। त्यसैले, यतिखेर आफ्नो सुरक्षा आफैँ गर्नुको विकल्प छैन। अस्पतालमा बेडको अभाव सुरु भइसकेको छ। भएका शय्याहरुमा पनि शक्ति, सत्ता र पैसाको रजगज छ। त्यसैले कोभिड-१९ को संक्रमणबाट बच्ने हो भने अस्पताल पुग्नुपर्ने स्थितिसम्म नपुग्नु नै हो। त्यसैले आफ्नो सुरक्षा आफैँ गरौं किनकि तपाईँले चाहेको सरकार उसकै सुरक्षामा व्यस्त छ।

त्यसो त सरकारले निषेधाज्ञा सुरु गरेको छ। यतिमै भर पर्न किन सकिन्न भने विगतमा जसरी 'लकडाउन' गरियो त्यसैगरी सरकार सुस्तायो, यसपटक पनि त्यस्तै नदोहरियला भन्न सकिन्न। निषेधाज्ञापछि संक्रमण व्यवस्थापनमा सरकारले चाल्ने कदमले कोरोना भाइरसको प्रकोप नियन्त्रणमा आउन सक्छ। त्यसमा सरकारसँग आश गर्न सक्छौं, विश्वास नै गरिहाल्न सक्दैनौं। किनकि निषेध गरेपछिका योजनाहरुमा सरकारको तयारी छैन। थियो भने - यतिखेर अस्पतालमा एउटा बेड पाउन हारगुहार गर्न पर्दैन थियो। अक्सिजन उत्पादन गर्ने मेसिनहरु गजबले काम गरिरहेका हुन्थे। चिकित्सकहरु आफैँ आत्तिँदै गुहार लगाउनुपर्ने अवस्था हुन्थेन। त्यसैले फेरि पनि दोहर्‍याउँछौं - सरकारबाट आशा गरौं, भर नपरौं। कसरी आफूलाई सुरक्षित राख्न सकिन्छ त्यसतर्फ ध्यान दिउँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell