PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

फेरि थला पर्‍यो सिने क्षेत्र : कोरोना महामारीबिच फिल्म छायांकन गर्नु अँध्यारोमा ढुंगा हाने जस्तो



लक्ष्मी बलायर

फेरि थला पर्‍यो सिने क्षेत्र : कोरोना महामारीबिच फिल्म छायांकन गर्नु अँध्यारोमा ढुंगा हाने जस्तो

काठमाडौं : कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले भिडभाड हुने क्षेत्रमा रोक लगायो। जसकारण सिनेमा हल समेत बन्द भए। महिनौं बन्द भएर पुन: संचालनमा आएका हलहरु फेरि बन्द भएपछि फिल्ममेकरहरु अन्यौलमा परेका छन्। बनिसकेका फिल्मका रिलिज मिति तय हुन सकेको छैनन्।

यस्तो अवस्थामा फिल्मका सुटिङ भने धमाधम भइरहेको छ। बैशाख ६ गतेबाट दुई फिल्म सुटिङमा निस्केका छन् ‘बाबरी’ र ‘प्रेमगंज’।

सुरेन्द्र पौडेल निर्देशित फिल्म 'बाबरी' मा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगर मुख्य भूमिकामा छन्। फिल्मको सुटिङ पूर्वका विभिन्न स्थानमा भइरहेको पौडेलले बताए।

परिच्छेद सेनको निर्देशन रहेको फिल्म 'प्रेमगंज' को सुटिङ पनि काभ्रेबाट सुरु भएको हो। बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्मलाई ४० दिनसम्म खिचिने निर्माणपक्षले बताएको छ।

त्यसैगरि मदन घिमिरेको निर्देशन रहको फिल्म ‘आँधी तुफान–२’को ले पनि गत बिहीबारबाट फिल्मको छायांकन सुरु गरेको छ। जुन फिल्म १६ वर्षअघि निर्माण गरिएको फिल्म 'आँधी तूफान' को सिक्वेल हो। फिल्ममा मौनता श्रेष्ठ को निर्माण र लेखन रहेको छ।

गत शनिबार ‘कबड्डी४' फिल्मको शुभ मुर्हत गरिएको थियो। रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा अभिनेता दयाहाङ राई, सौगात मल्ल, वुद्दि तामाङ, बिजय बराल, मिरुना मगर लगायतका कलाकारको मुख्य भूमिका रहनेछ।

उता प्रदिप खड्काको मुख्य अभिनय रहेको फिल्म ‘प्रकाश’को भने जुम्लामा अन्तिम चरणको सुटिङ चलिरहेको छ ।

स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ। यस्तो कोरोना महामारी बिच फिल्मको छायांकन गर्नु फिल्म निर्माताले जोखिमको भारी बोक्नु सरह रहेको बताउँछन् निर्देशक दीपेन्द्र लामा।

कोरोनाले गर्दा एक/डेढ वर्षदेखि फिल्महरु रिलिज सकेका छैनन्। सबै फिल्म निर्माताहरुलाई एउटै इच्छा हुन्छ राम्रो मितिमा हलमा फिल्म रिलिज गर्ने। तर कोभिड १९ का कारण पुरानै फिल्मलाई रिलिज गर्न पनि १ वर्ष समय लाग्ने देखिएको र अहिले सुटिङ गरिरहेका फिल्महरुको प्रदर्शन मिति भने २ वर्षपछि मात्रै आउने देखिएको बताउँछन् निर्देशक लामा।  

‘जुन फिल्म अहिले सुटिङमा छन् या जाने तरखरमा छन्। ति फिल्म अहिले सुटिङ गर्नु भनेको २ वर्षपछि मात्रै हलमा आउनु हो। दुई वर्षपछि फिल्ममेकर र दर्शकको पनि बुझाइ पनि धेरै माथि पुगिसकेको हुन्छ। दर्शकलाई फिल्म मन नपर्न सक्छ’। उनले बताए।

कोरोना महामारी बिच अहिले हलिउड र बलिउडमा ओटीटीमार्फत फिल्म रिलिज गर्ने क्रम बढ्दो छ। फिल्महरु धेरै वर्षसम्म 'स्टक' राख्दा फिल्मको कन्टेन्ट फरक भएर दर्शकले मन नपराउन सक्छन् भन्ने डरले विदेशमा फिल्महरु ‌ओटीटीमा रिलिज भइरहेको उनको तर्क छ।

लामाका अनुसार कोरोना नियन्त्रण नभएसम्म र हलमा दर्शक नआएसम्म फिल्मको सुटिङमा लगानी गर्नु भनेको निकै जोखिम उठाउनु हो।

‘कि त कम बजेटको फिल्म हुनुपर्‍यो। कि त कहिल्यै पुरानो नहुँने कन्टेन्टको फिल्म बनाउनु पर्‍यो। ओटीटीमा फिल्म रिलिज गर्न सक्ने वातावरण छैन। त्यसैले एक/दुई करोड लगानी लगाएर फिल्मको छायांकन गर्नु भनेको अँध्यारोमा ढुंगा हाने जस्तै हो’ उनले भने।

महामारीको परिस्थितिबिच फिल्म सुटिङ हुँदा कलाकार र प्राविधिकहरुले काम पाउनु भने राम्रो पक्ष रहेको सुनाउँछन् उनी। साथै अब कम बजेटको फिल्म, वेब सिरिज, सर्ट फिल्म र म्युजिक भिडियोतिर विकल्प खोज्नु आवश्यक रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell