PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

आईसीयू बेड नपाएर जनप्रतिनिधिको श्रीमतीको मृत्यु, आफन्त भन्छन्, ‘अस्पताल चहार्दै गयो ज्यान’



पूजा पन्थी

आईसीयू बेड नपाएर जनप्रतिनिधिको श्रीमतीको मृत्यु, आफन्त भन्छन्, ‘अस्पताल चहार्दै गयो ज्यान’

बुटवल : लुम्बिनी प्रदेशमा कोरोनाको अवस्था भयावह छ। विशेषगरी बाँके, रुपन्देही र दाङमा निकै त्रास रहेको देख्न पाइन्छ। यसको व्यवस्थापनको साटो यहाँ रहेका सरकारहरु बिजनेशविहीन बनेका छन्। कोरोना संक्रमितको संख्या गुणात्मक रुपमा बढ्दासमेत यहाँका पालिकाले पहिले बनाएका आइसोलेसन सेन्टरहरुलाई पुनः निर्माण भएका छैनन्।

रुपन्देहीमा पनि संक्रमण दर उच्च रहँदै गर्दा रुपन्देही देबदहका जनप्रतिनिधिले आफ्नी श्रीमती कोरोनाको उपचार अभावमा गुमाएका छन्। रुपन्देही देवदह-६ अध्यक्ष दामोदर क्षेत्रीकी श्रीमती ४९ वर्षीया कृष्ण कुमारीले उपचार नपाएर ज्यान गुमाउनु परेको हो। कोरोना संक्रमित कृष्णकुमारीले थप उपचारका लागि आईसीयू बेड अभावमा मंगलबार ज्यान गुमाएकी हुन्।

यसरी जनप्रतिनिधकै परिवारले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने स्थितिले अवस्था थप भयावह भएको पुष्टि गरेको छ। मंगलबार विहान कृष्णकुमारीलाई श्वास प्रश्वासमा समस्या देखिएपछि स्थानीय एक मेडिकलमा उपचारका लागि पुर्याइएको थियो। उक्त मेडिकलले कोरोना संक्रमणको आशंका गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजान सल्लाह दियो। लुम्बिनी प्रादेशिक अस्पतालमा आइपुग्दा उनको स्वास्थ्य अवस्था थप विग्रिसकेको थियो। अक्सिजनको मात्रा घटिरहेको थियो भने स्वाब परीक्षा गर्दा कोरोना पोजेटिभ देखा पर्‍यो। कृष्णको उपचारका लागि सँगै अस्पताल पुगेका देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले घटनाको विवरण सुनाउँदै भने ‘उहाँको अक्सिजनको लेभल घट्दै गएको हुँदा आईसीयू बेड चाहिने चिकित्सकहरुले सल्लाह दिए। तर, अस्पतालमा आईसीयू बेड खाली नभएपछि अन्तै जोहो गर्न हामीलाई नै भनियो।’

अन्य ठाउँमा आईसीयू बेड नभएको अवस्थामा तत्कालका लागि प्रादेशिक अस्पतालकै फिबर क्लिनिकमा राखेर कृष्णाको उपचार भइरहेको थियो। ‘हामीले बुटवलको तिनाउ अस्पताल, भैरहवाको भीम अस्पताल, मणिग्रामको क्रिमसन अस्पताल तथा काठमाडौंका विभिन्न अस्पतालहरुमा समेत बुझ्दा आईसीयू पाउन मुस्किल भयो,’ मेयर खत्रीले भने, ‘आईसीयू बेडका लागि दिनभर विभिन्न अस्पताल तथा व्यक्तिहरुलाई फोन गर्दा पनि नपाएपछि हैरान भएका उनीहरुले फिबर क्लिनिकमै कृष्णालाई राखेर प्रतिक्षा गर्ने बाहेक विकल्प रहेन।’

कोरोना संक्रमण पुष्टि भएकी कृष्णलाई उच्च ज्वरो, उच्च रक्तचाप र श्वास प्रश्वासमा समस्या थियो। आईसीयू बेड कुर्दाकुर्दै कृष्णकुमारीको मंगलवार दिउँसो ४ बजे मृत्यु भयो।

कोरोना रोकथामका लागि कुनै काम नभएको बताउँदै उनले भने, ‘प्रदेश सरकारले एक वर्षको बीचमा एउटा बेड पनि थप्न सकेको रैनछ, आफ्नै आँखा अगाडि एक सहकर्मीको श्रीमतीले उपचार नपाएर ज्यान गुमाउनुपर्यो, सर्वसाधारण जनाको अवस्था झन कस्तो होला?’

यता लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले कृष्णा कुमारीलाई कोरोना विशेष अस्पतालमा बेड खाली नभएकाले फिभर क्लिनिकमै राखेर उपचार गरिएको बताउँदै फिवर क्लिनिकमै ज्यान गएको बताए।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशमा निजी तथा सरकारी गरी १४२ वटा आईसीयू बेड रहेका छन् भने १५९ एजडियू बेड रहेका छन्। यसैगरी ७५ वटा भेन्टिलेटर रहेका छन् भने संक्रमितहरुको उपचारका लागि १९२ सामान्य बेड रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell