PahiloPost

Jul 3, 2024 | २० असार २०८१

अग्रता जोगाउन नसक्दा फेरि बराबरीमा रोकियो चितवन

अग्रता जोगाउन नसक्दा फेरि बराबरीमा रोकियो चितवन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा एफसी चितवन र बुटवल लुम्बिनी एफसी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चितवन र बुटवल २-२ को बराबरीमा रोकिएका हुन्।

चितवनले खेलको १४ औं मिनेटमै जर्जप्रिन्स कार्कीको गोलमा खेलमा अग्रता बनाएको थियो। त्यस्तै, १८ औं मिनेटमा टेक बहादुर बस्नेतले गोल थपे। उता बुटवलका लागि आशिष लामाले ३२ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा चितवन २-१ गोलअन्तरले अघि रह्यो। दोस्रो हाफमा बुटवलका लक्ष्मण रुचालले गोल थपे। उनले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए।

यो सँगै प्रतियोगितामा दुई खेल खेलेको चितवनले दुबै खेलमा अंक बाँडेको छ। यसअघि ललितपुर सिटीसँग चितवन १-१ को बराबरीमा रोकिएको थियो। त्यस्तै, यसअघिको खेलमा पोखरा थण्डर्समाथि २-० गोलअन्तरले जित निकालेको बुटवल लुम्बिनीले आज बराबरी खेल्दै ४ अंकसहित शीर्ष स्थानमा छ।

आजै हुने दोस्रो खेलमा विराटनगर सिटी एफसी र पोखरा थण्डर्स प्रतिस्पर्धामा उत्रने छन्।



ट्रेन्डिङ पोस्ट

Ncell