बुटवल : रुपन्देहीमा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भोलि बिहानदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ। भोलि बिहान ६ बजेदेखि बैशाख ३० गते बिहान ६ बजेसम्म रूपन्देहीमा निषेधाज्ञा हुने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।
निषेधाज्ञालाई कडा तरिकाले लैजाने प्रमुख जिल्ला अधिकारी तामाङले बताए। उनले रूपन्देहीमा अत्यावश्यक बाहेकका हरेक क्षेत्र बन्द हुने बताए। यस अवधिमा शान्ति सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने साधन जस्ता सेवा बाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको प्रजिअ तामाङले जानकारी दिए। यस्तै, जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ।
कुनै पनि भेला, भिडभाड जम्मा हुन, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ। सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्ट स्टोर, सपिङ मल, ब्युटिपार्लर र स्विमिङ पुल, स्पा, संग्रहालय, पुस्तकालय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाइएको छ।
त्यस्तै, परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ। शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरू सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाइएको छ।
अति आवश्यकीय सामग्रीहरू खाद्यान्न, ग्यास, तरकारी, फलफूल र दुध लगायत दैनिक उपभोग्य वस्तुहरूको सहज आपुर्तिको लागी उद्योग वाणिज्य संघ र व्यापार संगठनले व्यवस्था मिलाउने र यस्ता वस्तुहरूको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपुर्तिमा अवरोध गर्नेहरूलाई कारबाही गरिने भएको छ।
यसको साथै सीमालाई अझै व्यवस्थापन गरी अत्यावश्यक अवस्थामा नेपाल आउनु पर्ने नेपालीहरुको लागी मात्र बेलहिया नाकाबाट प्रवेश अनुमति दिइने जनाइएको छ। यसरी आउने नेपालीले बेलहियामै सञ्चालनमा रहेको होल्डिङ सेन्टरमा तापक्रम मापन सहित अभिलेखिकरण गर्ने, एन्टिजेन परीक्षण गर्ने र नकारात्मक रिपोर्ट आएका नेपालीलाई स्थानीय तहमा क्वारेन्टाइन वा आइसोलेसनसम्म पुर्याउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए।