
काठमाडौं : संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) भित्रको दरारका कारण यतिबेला प्रदेश सरकारहरु पनि डेन्जर जोनमा छन्। विशेषगरि एमालेले नेतृत्व गरेको प्रदेश १, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका सरकारमाथिको संकट जारी छ। डेन्जर जोनमा पुगेका प्रदेश १, गण्डकी र लुम्बिनीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव विचाराधीन छन्। प्रस्ताव अन्य दलका कारणभन्दा पनि एमालेकै असन्तुष्ट पक्षको सहयोगमा सफल हुने भय पनि मुख्यमन्त्रीहरुलाई छ।
कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार एमालेकै माधव नेपाल पक्षले जोगाएपछि अन्य प्रदेशमा पनि त्यही परिदृश्य दोहोरिने भए सत्तारुढ दलमा छ।
सरकारमाथि नै संकट देखिएपछि लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादीका तीन सांसदलाई मन्त्री नै बनाएका छन्। यस्तै, अन्य प्रदेशमा पनि विभिन्न हर्कत जारी छन्। गण्डकीमा बिहीवारमात्र सांसद हराएको र पछि अस्पतालमा भेटिएको घटना चर्चामा छ।
मुख्यमन्त्रीहरुले सरकार टिकाउन मन्त्रीमण्डल हेरफेरलाई पनि प्राथमिकता दिएका छन्।
‘बधाई खाएका लामाले शपथ खाएनन्’
बिहीवार वाग्मतीका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीमण्डल हेरफेर गरेका छन्। बिहीवार पौडेलले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केशव पाण्डे, उद्योग पर्यटन तथा वातावरणमा सरेश नेपाल, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा रामकुमार अधिकारीलाई जिम्मेवारी दिएका छन्।
बिहीवार बिहान स्रोतहरुलाई आधारित बनाएर मन्त्रीमण्डल हेरफेरको समाचार बाहिर आएका थिए। जसमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी चन्द्र लामालाई दिन लागिएको खबर सार्वजनिक भएको थियो।
खबर सार्वजनिकसँगै शुभेच्छुक र कार्यकर्ताले सबैलाई बधाई दिएका थिए। बधाई खाने अग्रपंक्तिमा काभ्रेका सांसद लामा थिए। तर, अन्तिम नामावली र शपथमा भने उनेको नाम अटेन।
अन्तिमसम्म लामा मन्त्री हुने चर्चा रहे तापनि शपथ लिन पाएनन्। उनी लामो समयदेखि युवा संघको राजनीतिमा छन्। मन्त्री बनाउने प्रयास भए पनि लामा स्वयंले अस्वीकार गरेको एमालेकै एक सांसदले बताए।
प्रदेशको राजधानी हेटौंडा राख्दा मुख्यमन्त्री पौडेलविरुद्ध निकै आलोचना गरेका लामा पार्टीमा भने अध्यक्ष केपी शर्मा ओली पक्षकै हुन्। यस्तै राज्यमन्त्रीको चर्चामा रहेकी सांसद जुनेली श्रेष्ठ पनि मन्त्रिपरिषदमा परिनन्। शपथग्रहण कार्यक्रममा उनको उपस्थिति भने रहेको थियो।