PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कैलाली कञ्चनपुरमा पनि बिहानैबाट निषेधाज्ञा, ठाउँठाउँमा यसरी खटिँदै प्रहरी

कैलाली कञ्चनपुरमा पनि बिहानैबाट निषेधाज्ञा, ठाउँठाउँमा यसरी खटिँदै प्रहरी

एम बम/पहिलोपोस्ट


कैलाली : कैलाली कञ्चनपुरमा निषेधाज्ञा सुरु भएको छ। स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा बिहीवार बिहान ६ बजेबाट लागू भएको हो। जारी निषेधाज्ञा अनुसार प्रहरीले विभिन्न क्षेत्रमा कडाइ गरिरहेको छ। बिहानैबाट निषेधाज्ञाको पालना गराउन प्रहरी ठाउँ ठाउँमा खटिएको छ।

भारतबाट आउनेहरू मार्फत कैलालीमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर उकालो लाग्न थालेपछि संक्रमणलाई ‘चेन ब्रेक’ गर्न निषेधाज्ञा गर्नु परेको स्थानीय प्रशासनको भनाई छ।

कैलाली र कञ्चनपुरमा २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने छ। आवश्यकताअनुसार यसको अवधि बढाइने प्रशासनले जनाएको छ।

कैलालीका प्रमुख जिल्ल अधिकारी खगेन्द्रप्रसाद रिजालले निषेधाज्ञा गर्नु बाध्यात्मक अवस्था रहेकोले सबै आम नागरिकलाई गम्भीरतापूर्वक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी घरमै सुरक्षित बस्न आग्रह गरे। निषेधाज्ञाको उलङ्घन गरिए कानुन बमोजिम कडा कारबाही गरिने पनि उनको भनाइ छ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन्। अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी, बैङ्क तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।

खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहनेछन्। खाद्य सामग्रीका पसलहरू बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइने छ। सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन्। विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन्।

यस्तै नेपाल सरकारका कर्मचारी, बैङ्क वित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell