PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

१० बजेपछि उपत्यकाभित्रको निषेधाज्ञा थप कडा, सडकमा ३२ सय प्रहरी खटाइयो



पहिलोपोस्ट

१० बजेपछि उपत्यकाभित्रको निषेधाज्ञा थप कडा, सडकमा ३२ सय प्रहरी खटाइयो

काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले आजबाट काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञाका कारण मुख्य सडकहरु सुनसान बनेको छ। निषेधाज्ञालाई कार्यान्वयन गराउन धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। विभिन्न स्थानमा ट्राफिक चेकिङ समेत राखिएको छ।

बिहान १० बजेसम्म खाद्यन्नका पसलहरु संचालन गर्न दिइएको थियो। जसले गर्दा बिहान मानिसको चहलपहल केही देखियो। सुरक्षाकर्मीले पनि खाद्यान्न किन्नका लागि केही सहजीकरण गरेको थियो। तर, १० बजेपछि भने प्रहरी कडा रुपमा उत्रिएको छ।

'१० बजेपछि हामी सबै पसलहरु बन्द गराउँछौं। त्यही अनुरुपले हामीले सुरक्षाकर्मी परिचालन गरिसकेका छौं,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सुशीलसिंह राठौरले भने।

सरकारी कार्यालय, बैंक वित्तीय संस्था लगायतका कार्यालय जान निस्किएका कर्मचारीका कारण पनि बिहान ९ देखि १० बजेसम्म सडकमा बाक्लै संख्यामा सवारीसाधान देखिएका थिए। तर, अहिले भने प्रहरीले कडाइका साथ चेकिङ थालेको छ।

अहिले काठमाडौं उपत्यकाभित्र ३२ सय प्रहरी खटाइएको छ। आज बिहानसम्म ट्राफिक प्रहरीले ४११ वटा सवारी सधानलाई नियन्त्रणमा लिएको छ। जसमा ३ सय २० वटा दुई पाङ्ग्रे सवारी साधन रहेका छन्।

त्यस्तै, मास्क नलगाई हिँड्ने मानिसलाई समेत नियन्त्रणमा लिइएको छ। काठमाडौंमा ६७० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै ललितपरमा ५७२ र भक्तपुरमा १७५ जनालाई नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell