PahiloPost

May 15, 2026 | १ जेठ २०८३

निषेधाज्ञाको सकसः हिँडेरै कोभिड १९ परीक्षण गर्न अस्पताल पुगे, अन्य दिनको तुलनामा भीड कम



पहिलोपोस्ट

निषेधाज्ञाको सकसः हिँडेरै कोभिड १९ परीक्षण गर्न अस्पताल पुगे, अन्य दिनको तुलनामा भीड कम

काठमाडौँ : काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञाको कारण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षण गराउनेको सङ्ख्यामा कमी आएको छ। सार्वजनिक तथा निजी सवारी साधनहरू नचल्दा परीक्षण गराउनेको सङ्ख्या कमी आएको अस्पतालका एक कर्मचारीले जानकारी दिए।

अस्पताल नजिकै भएका मानिस भने हिँडेर नै अस्पताल पुगेका थिए। आज बिहान लाइनमा बसेको १०/१५ मिनेटमा नै परीक्षण गर्ने पालो आएको परीक्षण गर्न पुगेकी शारदा अर्यालले बताइन्।

'मलाई केही दिन देखी ज्वरो र कोभिडको सङ्क्रमण देखिएको जस्तो भयो। त्यसैले चेक गर्न आएको हुँ। आज उपत्यकामा निषेधाज्ञा भएकाले हिँडेर नै आएको हुँ,' शारदाले भनिन्।

उनी कलङ्कीबाट हिँडेर परिवार सहित अस्पताल पुगेकी थिइन्। उनी जस्तै केही मानिस परिवारका अन्य सदस्यहरू लिएर अस्पताल पुगेका थिए। पछिल्लो समय देशभर कोभिड १९ सङ्क्रमण फैलिने दर बढेर गएको छ।

बुधवार मात्र ४ हजार ८ सय ९७ जनामा कोभिड पोजेटिभ देखिएको छ। काठमाडौं उपत्यकाभित्र नै एकै दिन २ हजार ४७ जनामा कोभिड पोजेटिभ देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell