PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाग्मतीकी पहिलो महिला मन्त्री सरस्वती बस्नेत : कक्षा ६ मा पढ्दापढ्दै अनेरास्ववियूबाट सुरु भएको थियो राजनीतिक यात्रा



निशा गुरुङ

वाग्मतीकी पहिलो महिला मन्त्री सरस्वती बस्नेत : कक्षा ६ मा पढ्दापढ्दै अनेरास्ववियूबाट सुरु भएको थियो राजनीतिक यात्रा

हेटौंडा : संघीय राजधानी काठमाडौं रहेको वाग्मती प्रदेशले पहिलो महिला मन्त्री पाएको छ। डोरमणि पौडेल नेतृत्वको वाग्मती प्रदेश सरकारमा  नेकपा एमालेबाट नेतृ सरस्वती बस्नेतले मन्त्री बनेकी हुन्। अन्य प्रदेशमा यसअघि महिलाहरु मन्त्री बने पनि वाग्मती प्रदेशको मन्त्रिमण्डलमा पहिलोपटक महिलाको प्रतिनिधित्व भएको हो। उनले बुधवार सामाजिक विकास मन्त्रालयको मन्त्रीको रुपमा सपथ लिएकी हुन्।

मुख्यमन्त्री पौडेलले बुधवार आन्तरिक मामिला तथा कानुमन्त्रीमा केशवराज पाण्डे, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा सरेश नेपाल र सामाजिक विकास मन्त्रीमा बस्नेतलाई नियुक्त गरेका हुन्। नवनियुक्त तीन जना मन्त्रीमध्ये सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी सरस्वती प्रदेशकै पहिलो महिला मन्त्री बनेकी हुन्।

राजनीतिक यात्रा

सामाजिक विकास मन्त्री बस्नेतको जन्म २०१९ सालमा दोलखा गौरीशंकर गाउँपालिकामा भएको हो। विद्यार्थी छँदादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय बस्नेतले शिक्षण पेशा, सामाजिक काम र राजनीतिलाई सँगसँगै अघि बढाएकी थिइन्। बस्नेत २०३२ सालमा हलेश्वर निमाविमा ६ कक्षामा अध्ययनरत हुँदा अनेरास्ववियू प्रारम्भिक कमिटीमा आवद्ध भएकी थिइन्। त्यसपछि शान्ति आदर्श मावि लादुकमा पहिलो एसएलसी ब्याचको विद्यार्थी हुँदै विद्यार्थी राजनीतिमा सक्रिय भइन्। बस्नेत अनेरास्ववियूको पाँचौ जिल्ला सम्मेलनबाट जिल्ला कोषाध्यक्ष निर्वाचित भएकी थिइन्।

बस्नते २०३७ सालदेखि शिक्षक संगठनसंगै अनेमसंघको गाउँ कमिटी र गाउँ पार्टी कमिटी दुवैमा कृयाशील भएकी थिइन। २०३७ सालदेखि अनेमसंघ जिल्ला कमिटीमा आबद्ध हुँदै सचिव र ३ कार्यकाल अध्यक्षपछि उनी अनेमसंघको केन्द्रीय सदस्य भइन्। हाल सरस्वती अनेमसंघ केन्द्रीय सचिवालय सदस्य र वाग्मती प्रदेश अनेमसंघको सचिवमा बहाल छिन्। बस्नेत पार्टीमा गाउँ कमिटी, जिल्ला कमिटी, राष्ट्रिय परिषद् सदस्य, अञ्चल कमिटी सदस्यमा पनि आवद्ध भइन्। उनी हाल प्रदेश कमिटी सदस्य एवं राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा पनि रहेकी छन्।

मन्त्री बस्नेत २०७१ सालमा सुकुम्बासी आयोगको दोलखा जिल्ला अध्यक्ष समेत भइसकेकी छन्। विभिन्न संघसस्थाहरुमा आवद्ध मन्त्री बस्नेत २०७४ सालमा दोलखा जिल्लाबाट वाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्।

२०३७ सालदेखि करिब ३० वर्ष शिक्षण पेशामा आवद्ध भई सेवा निवृत्त भएपछि पूर्णकालीन पार्टी राजनीति (नेकपा एमाले) मा उनी क्रियाशील छिन्।

नेपाल पक्षको धन्यवाद

प्रदेशले महिला मन्त्री पाएपछि एमाले माधव नेपाल समूहमा रहेकी वाग्मती प्रदेशसभा सदस्य मुनु सिग्देलले मुख्यमन्त्री डोरमणि पौडेलको प्रदेश सरकारलाई धन्यवाद दिएकी छन्। सिग्देलले सामाजिक विकासमन्त्री बस्नेतलाई बधाई दिँदै प्रदेशसभामा आफूले बारम्बार उठाउने गरेको विषय सम्बोधन भएको उल्लेख गरेकी छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell