जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। आज संक्रमित हुनेमा १८५ पुरुष र ७४ महिला रहेका छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गौर अस्पताल रौतहट, जिल्ला अस्पताल सिरहा र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका १४१, धनुषाका ४६, बाराका २३, रौतहटका १७, महोत्तरीका १५, सिरहाका ७, सर्लाहीका ६, सप्तरीका १ र अन्य जिल्लाका ३ जना गरी २ सय ५९ जना संक्रमित थपिएका हुन्।
यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १९ हजार ८७ पुगेको छ। आज संक्रमित भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले जानकारी दिए।
सप्तरीमा २५०, सिरहामा १ सय, धनुषामा ४२, रौतहटमा ८४, बारामा १५ र पर्सामा १०५ गरी प्रदेशभर रहेको ५९६ बेड क्षमताको आइसोलेसन सेन्टरमा पर्सामा ५६ र सिरहामा १० गरी ६६ जना भर्ना रहेका छन्। महोत्तरी र सर्लाहीमा अहिले आइसोलेसन सेन्टर नै छैनन।
यस्तै, प्रदेशको सप्तरीमा ४४, सिरहामा २९, धनुषामा २४९, महोत्तरीमा ६९, सर्लाहीमा १६, रौतहटमा ११६, बारामा २१८ र पर्सामा १ हजार ५७ गरी जम्मा १ हजार ७९८ जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
त्यस्तै, प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १ हजार ८६४ रहेको निर्देशनालयले जनाएको छ।
