PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

उपप्रधानमन्त्री पोखरेलले ‘धुर्मुस’लाई सिंहदरबार बोलाएर सोधे रंगशालाबारे, बल्ल राज्य छ भन्ने महसुस भयो : धुर्मुस



पहिलोपोस्ट

उपप्रधानमन्त्री पोखरेलले ‘धुर्मुस’लाई सिंहदरबार बोलाएर सोधे रंगशालाबारे, बल्ल राज्य छ भन्ने महसुस भयो : धुर्मुस

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा चासो व्यक्त गरेका छन्। रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मुस-सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई आज सिंहदरबारस्थित आफ्नै कक्षमा भेट्दै उपप्रधानमन्त्री पोखरेलले रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गरेका हुन्।

उपप्रधानमन्त्री पोखरेलले प्रेरणादायी, प्रसंशनीय कार्य गरेको भन्दै धुर्मुस-सुन्तली फाउन्डेशनको प्रशंसा गरे।

‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ,’ उनले भने।

उपप्रधानमन्त्री पोखरेलले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने बताए।

उपप्रधानमन्त्रीले भेट्न बोलाएर रंगशालाको बारेमा चासो लिएपछि कट्टेल निकै भावुक बनेका थिए। आफू राज्यलाई सघाउने अभियन्ता भएको भन्दै कट्टेलले टुहुरो जस्तो भएको बेला आफैँले बोलाएर चासो लिएकोमा उनले उपप्रधानमन्त्रीलाई धन्यवाद दिए।

‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो। हामीले निकै पीडा भोग्यौँ, धेरैपटक बुढाबुढी रोएका छौँ,’ उनले उपप्रधानमन्त्री पोखरेललाई भने।

अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको उनले जानकारी दिए। रकमको जोहो भए ६ महिनादेखि एक वर्षसम्ममा रंगशाला तयार हुने उनले बताए।

कट्टेलले भने, ‘हाम्रो कुनै स्वार्थ छैन, विशुद्ध कलाकार हौँ। जे गरेका हौँ, राष्ट्रका लागि गरेका हौँ। अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौँ। सहयोगी मनहरुको सद्भावले अगाडि बढ्न धेरै ठूलो उर्जा दिइरहेको छ। त्यसैले कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएको छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell