काठमाडौं : कोभिड १९ संक्रमणको सिकार भएकी पूर्वरानी कोमल शाहलाई प्लाज्मा दिइएको छ। नर्भिक अस्पतालमा उपचाररत शाहलाई बिहिवार २ सय एमएल प्लाज्मा दिएको हो। प्लाज्मा दिएपछि पूर्वारानी शाहको स्वास्थ्यमा सुधार आएको अस्पतालका चिकित्सक जीपी जैशवालले जानकारी दिए।
' कोभिड १९ भएको मानिसको प्लाज्मा दिएका हौं। अहिले उहाँको स्वास्थ्यमा केही सुधार देखिएको छ,' चिकित्सक जैशवालले भने।
संक्रमित पूर्वारानी कोमललाई बिहिवार आईसीयूमा सारिएको थियो। स्वाप्रश्वासमा समस्या देखिएपछि पूर्वरानी शाहलाई आईसीयूमा सारिएको हो। अहिले पनि पूर्वारानीलाई प्रति मिनेट १० लिटर अक्सिजनको सपोर्टमा राखिएको छ।
कोभिड १९ संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह सहित कोमल वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएकी थिइन्।
पूर्वराजा शाहको अवस्था भने सामान्य नै रहेको उनले जानकारी दिए।
पूर्वराजा ज्ञानेन्द्र शाह भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर वैशाख ५ गते स्वदेश फर्किएका थिए।
त्यसपछि कोभिड १९ परीक्षण गर्दा शाह दम्पतीमा कोभिड पोजेटिभ देखिएको थियो।
