काठमाडौं : बिहीवारबाट स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ।
निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक अन्य केही क्षेत्रलाई भने सञ्चालन गर्न अनुमति दिएको छ। बैङ्क वित्तीय संस्था सञ्चालनमा रहेका छन्। त्यहाँ काम गर्ने कर्मचारीलाई कार्यालयको परिचयपत्रको आधारमा सवारी चलाउन दिएको छ। त्यस्तै सरकारी कर्मचारीलाई पनि सवारी चलाउन कुनै रोकतोक लगाइएको छैन। निषेधाज्ञा भए पनि सडकमा सवारीको उपस्थित देखिन्छ।
बिहीवार र शुक्रवार बिहानको काठमाडौं उपत्यकाको अवस्थालाई हेरेर स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडा गर्ने तयारी थालेको छ। काठमाडौं उपत्यकाभित्र बढ्दै भएको कोरोना सङ्क्रमण र सडकमा मानिसको उपस्थितिलाई हेरेर थप कडाइ गर्ने विषयमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
'हिजो र आज बिहानको अवस्था हेर्दा थप कडा गर्नुपर्ने जस्तो देखिएको छ। यस विषयमा हामी छलफल गरिरहेका छौँ,' सीडीओ पराजुलीले भने। बिहिवार निषेधाज्ञाको निरीक्षण गर्दै सिडिओ पराजुली
काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले बिहीवार बिहान ६ बजेबाट एक साताको लागि निषेधाज्ञा जारी गरेको थियो। मन्त्रिपरिषद्को बैठकले थप एक साता काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गर्न निर्णय गरेको थियो। एक सातापछि भने अझै केही क्षेत्रलाई निषेधाज्ञा गर्ने विषयमा छलफल भइरहेको छ।
अहिले सञ्चालनमा रहेका बैङ्क तथा वित्तीय क्षेत्र, सरकारी कार्यालय लगायत क्षेत्रमा थप नियम लगाउने तयारी भइरहेको छ। सरकारी कर्मचारीको हकमा जोर- बिजोर को आधारमा सवारी सञ्चालन गर्ने, बैङ्क वित्तीय क्षेत्र संचानल गर्ने समय र कर्मचारी घटाएर सञ्चालन गर्न निर्देशन दिने लगायत विषयमा छलफल भइरहेको छ।
'अहिले मलाई दुई वटा विषयमा धेरै कल आएको छ। एउटा पास, अर्को अस्पतालमा बेड। पास पहिलो प्राथमिकता होइन। बेड र अक्सिजन नै हो। त्यसैले पनि सङ्क्रमण थप नफैलिन केही कडाइ गर्नुपर्ने देखिएको छ,' सीडीओ पराजुलीले भने।
अहिले लागू भएको निषेधाज्ञामा खाद्यान्न तथा अन्य आवश्यक पसलहरूलाई बिहान १० बजेसम्म खोल्न दिइएको छ। साँझ पनि ५ बजेदेखि ७ बजेसम्म खोल्ने गरेका छन्। यसको पनि समय अवधि घटाउने विषयमा तयारी भइरहेको छ। निषेधाज्ञाको समयमा मानिसलाई हिँड्न रोकिएको छैन। जसले गर्दा अनावश्यक रूपमा पनि मानिस सडकमा हिँडेको देखिएको छ। प्रहरीले अनावश्यक रूपमा र मास्क नलगाई हिँड्ने मानिसलाई कारबाही गरेको छ।
'मानिसको मोमेन्ट कसरी कम गर्न सकिन्छ र अत्यावश्यक काम बाहेक घरमा नै बस्ने अवस्था बनाउन सकिन्छ भन्ने विषयमा समेत तयारी गरिरहेका छौँ,' प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।
बिहीवारमात्र देशभर झन्डै ५ हजार मानिसमा कोरोना सङ्क्रमण देखिएको छ। दैनिक संक्रमितको सङ्ख्या बढ्दो रहेको छ। काठमाडौं उपत्यकाभित्र पनि सङ्क्रमण फैलिने दर बढेको छ।
