PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

रुपन्देहीमा मिलेन बेड, कपिलवस्तु पुर्‍याएर संक्रमितको शल्यक्रिया, जन्माइयो बच्चा



पूजा पन्थी

रुपन्देहीमा मिलेन बेड, कपिलवस्तु पुर्‍याएर संक्रमितको शल्यक्रिया, जन्माइयो बच्चा

बुटवल : बुटवलमा बेड अभावका कारण उपचार हुन नसकेपछि कोरोना संक्रमित महिलाको कपिलस्तुमा शल्यक्रिया गरी बिहीवार राति बच्चा जन्माइएको छ। 

प्युठान स्थायी घर भएकी ३१ वर्षीया महिलालाई उपचारका लागि सोमवार प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। गर्भवती महिलाको पीसीआर परीक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएको थियो।

बच्चा जन्माउन बुटवल अस्पताल पुर्‍याइएकी उनमा चार दिन अघि कोरोना पोजेटिभ देखिएको थियो। तीन वर्ष अघि पनि बुटवल अस्पतालमै शल्यक्रिया गरेर उनले छोरा जन्माएकी थिइन्। उनलाई चार दिनसम्म आइसोलेशनमा राखिएको थियो। पेटमा पीडा भए पछि बेड अभावले उनको उपचार हुन सकेको थिएन । भीम अस्पताल भैरहवामा समते बेड अभाव थियो ।

त्यसपछि प्रादेशिक अस्पतालका डाक्टरहरुले कपिलवस्तु अस्पतालमा ती महिलाको उपचारका लागि रिफर गरेका थिए । 

‘बेड अभावले कोरोना संक्रमित गर्भवती महिलाको उपचार गर्न कपिलवस्तु अस्पताल पठाइएको थियो,’ कपिलवस्तु अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट किशोर बन्जाडेले भने, ‘काम चुनौतीपूर्ण थियो तर सफल भयौं।'

टीमको प्रयासले आफूहरु सफल भएको उनले बताए।  

राति नौ बजेर ५७ मिनेटमा ती महिलाको शल्यक्रिया गरी ३ किलो २४० ग्रामको बच्चा जन्माइएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताए। 
ती महिलाको २ वटा बच्चा खेर गइसकेको थियो। 

‘प्रसुती पीडा भएको बेला कोरोना संक्रमित भएपछि ती महिलाको उपचार चुनौतीपूर्ण थियो, तर हामीले उनको सफल उपचार गर्‍यौं,’ उनले भने।

महिला र बच्चालाई अस्पतालमा छुट्टाछुट्टै राखिएको छ। बच्चाको पीसीआर परीक्षणका लागि स्वाब पठाइएको छ । आमा र बच्चाको अवस्था ठीक रहेको डाक्टर क्षेत्रीले बताए। 

कपिलवस्तु अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा किशोर बन्जाडे, डा पुनम लामा, डा गणेश क्षेत्री, एनेस्थेसिया सहायक रमेश कुमार महतो, नर्सिङ कर्मचारी रबिना क्षेत्री, आयुष्मा अर्याल तथा सहयोगी सकरुन निशा लगायतका टोली शल्यक्रियामा सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell