PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जोगवनीको 'कोभिड १९' परीक्षण छल्न गाउँको बाटो, नाकामा जे देखियो ...

जोगवनीको 'कोभिड १९' परीक्षण छल्न गाउँको बाटो, नाकामा जे देखियो ...

प्रवीण रानाभाट/पहिलोपोस्ट


विराटनगर : भारतमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको छ। आजमात्रै ३ लाख ८६ हजारभन्दा बढीमा कोभिड १९ संक्रमण देखिएको छ। एकैदिन ३ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ। संक्रमणको गति बढ्दै गएसँगै भारतका कयौं राज्यमा लकडाउन गरिएको छ। केही क्षेत्रमा निषेधात्मक व्यवस्था लागू गरिएको छ। जसकारण शहरी क्षेत्रमा बस्दै आएमा मानिसहरु गाउँ फर्किएका छन्।

यसक्रममा भारतमा गएर काम गर्दै आइरहेका नेपालीहरु समेत स्वदेश फर्किरहेका छन्। नेपाल फर्कनेहरुसँग कोभिड १९ संक्रमण पनि नेपाली गाउँमा फैलिएको छ।

सीमा क्षेत्रमा सरकारले कडाई गरेको भने पनि खुला सीमाना भएका कारण भारतबाट मानिस सीमा नाका भन्दा गाउँको बाटो हुँदै स्वेदश फर्किरहेका छन्। जसले जोखिम झनै बढाएको छ। 

भारतको बिहारसँग जोडिएको रानी (जोगवनी) नाकाबाट दैनिक करिब ३०० भन्दा बढी नेपाली अहिले पनि नेपाल प्रवेश गरिरहेका छन्। बिहारमा बिहीवारमात्रै  करिब १३ हजारमा कोरोना संक्रमण देखिएको छ। जससँगै बिहारमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख नाघेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

भारतका मुख्य शहरहरुबाट बिहार हुँदै जोगवनी लगायतका नाकाबाट प्रदेश १ मा अहिले पनि धेरै संख्यमा मानिसहरु भित्रिरहेका छन्। जोगवनीबाट हाल नेपालीहरुलाई मात्र प्रवेश दिइएको छ। नाकाको १ नम्बर गेटबाट स्वेदश आउनेहरुको स्वास्थ्य परीक्षण गर्न नै 'हेल्थ क्याम्प' राखिएको छ। त्यहीँ प्रत्येक व्यक्तिको एन्टिजेन परीक्षण हुने गरेको छ। भारतबाट आइरहेका केही व्यक्तिहरुको एन्टिजेन परीक्षण गर्दा संक्रमण पनि उत्तिकै देखिएको छ। 

एन्टिजेन परीक्षणमा कोभिड १९ पोजेटिभ देखिनेहरुलाई स्थानीय पालिकासँग मिलेर सम्बन्धित अस्पतालमा पुर्‍याउने गरिएको नाकामा कार्यरत चिकित्सकहरु बताउँछन्। 

तर, नाकामा भइरहेको परीक्षणलाई बेवास्ता गर्दै गाउँको बाटो हुँदै आउने नेपालहरुको संख्या धेरै रहेको स्थानीय बताउँछन्। प्रहरीको संख्या कम भएको र खुला सीमा भएकाले गाउँको बाटो हुँदै आउनेहरुलाई नियन्त्रण गर्न सकिएको छैन। जसकारण विराटनगर महानगरपालिकामा संक्रमणको जोखिम बढेको छ। 

जोगवनी नाका रहेको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका अनुसार महानगरमा मात्रै दैनिक करिब १०० जनामा संक्रमण देखिँदै आएको छ। संक्रमणको जोखिम बढेको कारण नाकाहरुमा पहिलाभन्दा कडाई गरिएको पराजुली बताउँछन्। तर, खुला सीमा भएका कारण त्यहाँबाट आउने मानिसहरुका कारण संक्रमणको जोखिम बढेको उनले बताए। 

'हामीले पहिला देखि नै नाकामा एन्टिजेन परीक्षण गर्दै आएका थियौं। अहिलेको अवस्थामा हामीले सीमा नाकाहरुलाई पहिलाभन्दा निकै कडाई गरेका छौं। तर, खुला सीमा भएका ठाउँबाट मानिसहरु निर्वाध आइरहेकाले त्यसको व्यवस्थापनमा समस्या छ,' उनले भने। 

उनका अनुसार सशस्त्र र नेपाल प्रहरीसँगको समन्वयमा गाउँको बाटो हुँदै नेपाल आउनेहरुलाई नियन्त्रणको प्रयास भइरहेको छ। तर, खुला सीमा भएका धेरै स्थानमा सुरक्षाकर्मी पुग्ने सम्भावना नरहेको उनले स्वीकारे।

पराजुलीका अनुसार संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नगरका सबै वडामा पहिलादेखि नै फिभर क्लिनिक संचालनमा रहेको छ। साथै तीनवटा नाकामा स्वास्थ्य परीक्षण र एन्टिजेन टेस्ट भइरहेको छ।

संक्रमितको संख्या बढेसँगै नगरपालिकाले आफ्नो दायित्वमा रहेको सबै कार्य पूरा गर्ने प्रयास गरिरहेको उनले दाबी गरे। संस्थागत आइसोलेसन र होल्डिङ सेन्टर प्रदेश सरकारले निर्माण गर्ने भनिए पनि त्यो नबनेकाले नगरपालिकाले नै आइसोलेसन सेन्टर बनाउने तयारी गरेको समेत उनले बताए। साथै विराटनगरमा महानगर, प्रदेश सरकार र निजी क्षेत्र सबैको सहकार्यमा १०३ शैयाको अस्पताल समेत आजबाट संचालनमा आएको उनले बताए। 

प्रदेश १ मा संक्रमितको संख्या अन्य स्थानभन्दा कम भए पनि मोरङमा दैनिक १०० भन्दा बढीमा संक्रमण देखिँदै आएको छ। बिहीवारमात्रै मोरङमा १३७ जनामा संक्रमित पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विराटनगर महानगरमा भने संक्रमितको संख्या ह्वात्तै बढेको छ। त्यसैले नगरपालिकास्तरीय कोभिड १९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लगाउनेबारे छलफल भइरहेको पराजुलीले बताए। 
'हामीले बैठक बसेर संक्रमणको चेनब्रेक गर्न निषेधाज्ञा लगाउने भनेका छौं। त्यो बाहेक अन्य उपाय छैन। सीडीओसँग पनि हाम्रो कुरा भइरहेको छ। सम्भवत जिल्लाको सीसीएमसीबाट निर्णय गरेर निषेधाज्ञाका हामी जान्छौं,' उनले भने।
 



ट्रेन्डिङ पोस्ट

Ncell