काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभित्र फैलिएको कोरोना संक्रमण सरकारको चरम लापरबाहीको संज्ञा भएको आरोप लगाएका छन्।
सभापति देउवाले आज दिउँसो आफ्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गर्दै सरकारको असंवेदशीलता र लापरबाहीका कारण उच्चदरमा संक्रमण फैलिएको आरोप लगाएका हुन्।
'यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मन्यता जिम्मेवारी छ। यो सरकार न विगतका गल्तीबाट सिक्छ न त काँग्रेस तथा अन्य सरोकारवालाहरुले दिएको सल्लाह र सुझाव नै आत्मासात गर्छ,' देउवाले भने।
उनले प्रधानमन्त्री ओली अधुर काममा पनि भिडभाड जम्मा गरेर उद्घाटन गर्दै तडकभडकमा मग्न भएको आरोप पनि लगाए। 'अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडकभडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्नुपर्ने स्थितिमा पुगेको छ,' देउवाले भने।
त्यस्तै, सरकारलाई तत्काल संक्रमितको उपचारको लागि आईसीयू बेड आवश्यक औषधी उपचार उपलब्ध गराउन माग गरेका छन्।
उपत्यकामा निषेधाज्ञा गरेपछि कोभिड परीक्षण नगरी उपत्यका छोड्ने समय दिएर लाखौं मानिसहरु काम संक्रमित जिल्लामा पुगेको उनको आरोप थियो। 'सरकारको यस्तो निर्णयले कम संक्रमण भएको जिल्लामा व्यापक हुने खतरा बढेको छ,' देउवाले भने।
