काठमाडौं : जिल्ला प्रशासन कार्यालय झापाले आइतवारदेखि लागू हुने गरी एक हप्ताको लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। कोभिड-१९ संकमण तीव्र रुपमा बढिरहेको भन्दै संक्रमणको रोकथाम र नियन्त्रण गर्न आइतवार मध्यराति १२ वजेदेखि २६ गते राति १२ वजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो।
जस अनुसार अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दुरी, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न, नियमित रुपमा साबुन पानीले हात धुन, अनिर्वाय माक्सको प्रयोग गर्न र स्यानिटाइजरको प्रयोग गर्न प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ।
त्यस्तै, प्रशासनले कुनै पनि भेला, जुलुस, सभा सम्मेलन, छलफल गोष्ठी नगर्न, हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भिडभाड हुने कार्य नगर्न नगराउन, अत्यावश्यक बाहेक १० वर्ष भन्दा मुनि तथा ६० वर्ष भन्दा माथिको उमेरका व्यक्तिहरु तथा दीर्घरोगीले कुनै पनि काममा घर बाहिर आवतजावत नगर्न, कोरोनाको लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्न समेत अपिल गरेको छ।
यसैगरी, प्रशासनले सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी संस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीहरुको अवस्था हेरी सम्बन्धित माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा वा अत्यावश्यक सेवा बाहेक अन्य सेवा हाललाई स्थगित गर्न भनेको छ।
यस्तै, निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन स्थल, शैलुन, ब्युटि पार्लर, जिमखाना, समूहमा खेल्ने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न नपाइने भएको छ।
प्रशासनले जारी गरेको आदेशमा भनिएको छ, ‘सार्वजनिक एवं निजी सवारी साधन सिटी रिक्सा समेत १९ गते आइतवार राति १२ वजेदेखि २६ गते राति १२ वजेसम्म झापा जिल्लाभर जोर बिजोर प्रणालीमा (जोर गते जोर नम्बरको तथा बिजोर गते बिजोर नम्बरको सबै प्रकारको सवारी साधन) मात्र सञ्चालन गर्ने।’
एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य बस्तु बोकेका सवारी साधन, बैंक, वित्तिय संस्था, दूरसञ्चार, ईन्टरनेट, रेडक्रस, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँक सेवा लगायतका दुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने बताइएको छ।
औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल बाहेक अन्य पसल व्यवसाय बिहान ६ वजेदेखि बिहान ११ वजेसम्म खुल्ला गर्न तथा डिपार्टमेन्ट स्टोरको हकमा बिहान ६ वजेदेखि बिहान ११ बजे सम्म सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ। खाद्य सामग्री, औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न समेत भनिएको छ।
नेपाल सरकारका कर्मचारी बैंक तथा वितिय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी सधानका हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिइने प्रशासनको आदेशमा उल्लेख छ।


