जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ सय ८७ जना कोरोना संक्रमित थपिएका छन्। आज संक्रमित हुनेमा २१२ पुरुष र ७५ महिला रहेका छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गौर अस्पताल रौतहट, जिल्ला अस्पताल सिरहा र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्सामा १३५, धनुषामा ४४, बारामा ३५, सप्तरीमा २७, महोत्तरीमा १८, सिरहामा १०, रौतहटमा १०, सर्लाहीमा ७ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले जानकारी दिए। योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १९ हजार ३ सय ७४ पुगेको छ।
यस्तै, आज थपिएका संक्रमितसँगै प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ४६ पुगेको छ। आज संक्रमित भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै आइसोलेसनमा रहेको निर्देशनालयका वरिष्ठ चिकित्सक यादवले जानकारी दिए।