PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मकवानपुरमा ५०० सक्रिय संक्रमित पुगेपछि निषेधाज्ञा जारी गर्ने तयारी



निशा गुरुङ

मकवानपुरमा ५०० सक्रिय संक्रमित पुगेपछि निषेधाज्ञा जारी गर्ने तयारी

हेटौँडा : मकवानपुरमा शुक्रवारसम्म ४ सय १९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन्। जसमा ३ सय ६४ जना होम आइसोलेसनमा, १९ जना हेटौँडा अस्पतालको आइसीयूमा र १३ जना गौरिटार आइसोलेसनमा उपचाररत रहेका छन्। मकवानपुरमा कोरोनाका कारण हालसम्म ३५ जनाको मुत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन केन्द्रले जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ। जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख भरत मणी पाण्डेले जिल्लामा सक्रिय संक्रमित ५ सय नाघेपछि संक्रमण बढ्न नदिन निषेधाज्ञा जारी गरिने बताए। उनका अनुसार जिल्लामा सक्रिय संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

भोलिबाट हेटौँडामा ‘मिनि लकडाउन’

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको शुक्रवार बसेको बैठकले पछिल्लो समय हेटौँडा बजार क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या वृद्धि हुन थालेपछि शनिवारबाट लागू हुने गरी हेटौँडा उपमहानगरपालिका क्षेत्रमा होटल देखि चिया पसल र हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा रहेका सबै व्यवसाय बन्द गर्ने निर्णय गरेको हो।

शनिवारबाट उपमहानगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण होटल, लज, रेष्टुरेन्ट, मिठाई पसल तथा चिया पसलहरू बन्द हुनेछन् भने सम्पूर्ण निजी अस्पतालहरूले आआफ्नो अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने र आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू आलोपालो उपलब्ध गराउनु पर्ने निर्णय समेत केन्द्रले गरेको छ।

त्यसैगरी, केन्द्रले हेटौँडा बजार क्षेत्रमा मानिसहरूको भिडभाडलाई नियन्त्रण एवं व्यवस्थापन गर्न व्यवसायको दिन तोकेर आलोपालो प्रणाली लागू गराउन मकवानपुर उद्योग वाणिज्य संघले व्यवस्थापन गर्ने गरी निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell