PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

सनसनीपूर्ण सनैया : चर्चा मरूभूमिमा नेपालीको जीवन



ऋषिकेश दाहाल

सनसनीपूर्ण सनैया : चर्चा मरूभूमिमा नेपालीको जीवन

लकडाउनकै अनुभूति। रित्तो सडक। सडक किनारमा सटरले छोपिएका पसलहरु। फाट्टफुट्ट मानिस। अनि चर्को घाम। पछाडि रुक्स्याक र हातमा झोला भिर्दै गौशालाबाट विमानस्थलतिर हिँडिरहेका युवा। ती पक्कै मरूभूमिमा जीवन खोज्न हिँडिरहेका छन्। एक वर्षअघि गरेको लकडाउनको फल यतिखेर लाग्नुपर्थ्यो सायद। बीऊ छरेर उम्रियो उम्रिएन, ख्याल समेत नगर्दा जसरी टुसा नै सुकेर जान्छ, मुलुकमा त्यही दृश्य देखियो। परिणाम यतिखेर हामी निषेधाज्ञामा छौं। स्वास्थ्य मन्त्रालयले अपील निकालेर अस्पतालको शैय्या उपलब्ध गराउन सक्दिन भनिसक्यो। यति लाचार सरकार भोग्नुको परिणाम नै हुनुपर्छ निषेधाज्ञामा पनि अविराम यात्रा देखिरहेका छौं – खाडीतिरको।

केही अघिमात्रै पत्रकार होम कार्कीको एउटा पुस्तक सार्वजनिक भयो – सनैया। स्वावलम्बनका नारा घोकाउँदा घोकाउँदै थल परेर निस्तेज बन्दै गएको देश। अनि त्यही देशका जुझारु नागरिकको मरूभूमिको यात्रा। धेरै पीडा थोरै सफलताका बयान। अवसरवादी राजनीतिकै कारण मुलुकभित्र सास फेर्ने आशा मारेर तातो बालुवामा भेडा चराउन जानेहरुको ताँती। अनि त्यहाँ पुगेपछिको पीडा र मुलुक फर्किनका लागि हुने संघर्षको फेहरिस्त कार्कीले सनैयामा राखेका छन्। उनले लेखे। पढ्नेले पढे। जानेहरु रुक्स्याक कसेर लागिरहेकै छन्। सत्ताले लकडाउन पनि गरिरहेकै छ। अनि सजिलै भनिदिएको छ – अस्पतालमा शैय्या उपलब्ध गराउन सकिन्न।

निषेधाज्ञाको दुई दिनमा देखिएका दृश्यहरुले तिनैको कथालाई पुनरावृत्ति गर्नेछ जसलाई कार्कीले पुस्तकाकारका रुपमा उनेका छन्। गौशालाबाट लखरलखर विमानस्थलतिर लम्किएका पाइलाहरु विवशताको प्रतीक हुन्। शासकका शैलीका प्रतिविम्ब। ती प्रतिविम्ब सत्ताका लागि प्रीतकर विषय पनि होइनन्। ज्युँदै आउन या बाक्सामा, त्यो पनि शासकका लागि चासो छैन। यतिमात्र हो - शासक बाच्नुपर्छ।  ऊ बाच्नका लागि अरु कतिले ज्यानको आहुती चढाउनुपर्छ परोस्।

साच्चै नेपालीको जीवन पछ्याउन गाह्रो छ। पत्रकारका रुपमा खाडीमा पुगेका होम सायद पत्रकारितासँगै त्यहाँ अलपत्र पर्नेको उद्दारमा धेरै लाग्थे। कहिलेकाहीँ त पेशागत जिम्मेवारीभन्दा बढी नेपालीको सेवामा समर्पित हुन्थे पो कि! त्यसको प्रतिविम्ब देखिन्छ उनको पुस्तकमा। अखबारमा टुक्राटाक्री हुँदै आउने उनका सनसनीखेज खबरको सग्लो आकार खोज्ने हो भने त्यो सनैया नै हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाठकलाई खाडीमा कामदार जसरी छिर्छन्, उस्तै मेलोमा घुसाइदिन्छन् उनी। त्यसैगरी कतारमा ल्यान्ड पनि। त्यसपछि उसैगरी उतार चढावका कथाहरुमा घुसाइदिन्छन्। पाठक आफैँ कतै त्यहीँ काम गरिरहेको अनुभूति गर्न थाल्छन्। अग्ला भवनमा झुन्डिँदै रङ पोतिरहेको होस् या बिजुलीको वाइरिङका लागि तार तानिरहेको। या मरूभूमिमा सासका लागि गाँस जुटाउँदै गर्दा। साउदीका मरूभूमिमा भेडाको बथानसँगै नआउने तलबको आशामा पाठक आफैँ रुमिलन्छन्। फरक फरक पात्र र उनीहरुको खाडीको दैनिकीसँग लेखक आफैँ यसरी घुलेका छन् कि त्यहाँ पात्र र लेखकबिचको अन्तर भेटाउन सकिन्न। देश छोड्नासाथ ठगिएको थाहा पाउनु, ठगिएको थाहा पाउँदा पाउँदै न्याय नपाउनु र 'सपना'लाई दुत्कार्दै आफ्नै देश फर्किन्छु भन्दा पनि फर्किन नपाउनुको पीडा के हुन्छ? अनि जेल पर्‍यो भने त पक्कै नेपाल डिपोर्ट गर्देला भन्ने आशमा वर्षौको तलब माया मारेर निर्णय लिनेहरुको मनोदशा के होला? अझ पैसा तिरेरै पनि जेलमा जान सेटिङ गर्नेहरुको आफ्ना लालाबाला सम्झिँदा के गर्लान्? 

मधेशदेखि हिमाली जिल्लासम्मका मानिसहरुको पीडामा अन्तर छैन, मरूभूमि पुगेपछि। थोरैका सफलताका श्रृङ्ला पनि छन्। प्रेमिल कथाहरु पनि। तर, मरूभूमिमा उठाइएका केही बोरा बालुवा झै लाग्छन् ती। बाँकी त सब मृगतृष्णाका सिकार। यहीँ कतै लेखकले दु:खको धेरै व्याख्या गरिरहेका त होइनन्? साह्रै सीमित सफलताका श्रृङ्खला अटाएका छन् पुस्तकमा। स्वभाविक हो, दु:ख थिएन भने त्यो सनैयाको साटो अरु नै शीर्षकमा अटाउथ्यो। अझ टिठलाग्दो त नेपाली दूतावासको निरीहता साक्षत्कार हुन्छ। दास युगका कथा सुनेकाहरुले आधुनिक समाजमा त्यसको सजिव व्याख्या पाउँछन्।

आख्यान र समाचारको 'घुलन' भेटिन्छ ठाउँठाउँमा। कतै सहज त कठै ठेस लाग्छ त्यस्तो लेखनले। बिचमा समाचारीय शैलीमा तथ्य/तथ्याङ्कहरु नमिसिएको भए पक्का आख्यान नै अनुभूति हुन्छ। सम्पादनका लागि अझै ठाउँहरु भेटिन्छ ठाउँठाउँमा। र, त्यो कुनै अस्वभाविक पनि होइन।

सनैया पढिरहँदा रवीन्द्र मानन्धरको एउटा पुरस्कार जितेको कार्टुनको याद आयो। मरूभूमिमा भेडा चराइरहेको युवकले होडिङ बोर्डसामु मोबाइलबाट सेल्फी खिचेर घरमा 'सन्तोष' पठाइरहेको। हो, सनैया त्यही हो। भ्रमपूर्ण 'सन्तोष'को व्यापार जारी छ। दलालहरु त्यसमा सक्रिय छन्। नहुन् पनि किन सरकार आफैँमा 'भ्रम'को खेतीमा सक्रिय जो छ। भूइँमान्छेको कथा जे भए पनि सरकारले व्यापार त 'समृद्धि'कै त गरिरहेछ। उसलाई के मतलब निषेधाज्ञाको बिचमा पनि सनैयाभित्र गुम्सिनका लागि देशका जवानहरु लखरलखर उतैतिर लागिरहेका छन्। थाहा छैन उनीहरु सग्लै फिर्छन् या बाक्सामा।

  • प्रकाशक : किताब पब्लिसर्स
  • मूल्य : ५४० 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell