काठमाडौं : निषेधाज्ञा अझ त्यसमाथि शनिवार। त्यसैले गर्दा आज काठमाडौं उपत्यकाभित्रका सडक सुनसान देखिए। अत्यावश्यक मानिने सवारी साधन छिटपुट गुडेका छन्। शनिवार भएकाले सरकारी कार्यालय बैङ्क तथा वित्तीय संस्था नखुलेकाले त्यसमा काम गर्ने कर्मचारीहरू पनि घरभित्र नै बसेका कारण काठमाडौं उपत्यकाभित्र सुनसान देखियो।
कोरोना सङ्क्रमण रोकथाम गर्ने भन्दै स्थानीय प्रशासनले बिहीवार बिहानबाट एक साताको लागि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा जारी भए पनि बिहीवार र शुक्रवार भने काठमाडौँका सडकमा केही भिड देखिएको थियो। त्यसैको परिणाम विभिन्न निकायहरूले गृह मन्त्रालयमा काठमाडौंको निषेधाज्ञा थप कडा गर्नुपर्ने ब्रिफिङ गरेका थिए।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख कालीप्रसाद पराजुली, काठमाडौँका प्रहरी प्रमुख अशोक सिंह, महानगरीय ट्राफिक प्रहरी प्रमुख जनकराज भट्टराईको टोलीले बिहीवार काठमाडौँका विभिन्न ठाउँमा पुगेर अनुगमन समेत गर्यो। त्यहाँ पुग्दा सडकमा भिड, नागढुङ्गामा सवारीको जाम समेत देखेका थिए, उनीहरुले।
त्यस्तै, शनिवार बिहान पनि यही टोलीले काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमन गर्यो। शनिवार गरेको अनुगमनमा काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य पनि थपिए। शनिवार अन्य दिनको तुलनामा सुनसान थियो।
'शनिवार सरकारी कार्यालय र बैङ्क तथा वित्तीय संस्था नखुल्ने भएकाले पनि सुनसान भएको बुझियो। निषेधाज्ञा प्रभावकारी बनाउने हो भने यस्ता क्षेत्रलाई अझै कडाइ गर्नु पर्ने देखिएको छ। यस विषयमा छलफल हुन्छ,' जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।
शनिवार बिदाको दिन भए पनि सडकमा केही सरकारी गाडीहरू गुडेको भने भेटियो। त्यस्ता गाडीहरूलाई सीडीओको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। त्यस्तै, मास्क नलगाइ हिँड्ने र काम बाहेक निस्किनेलाई समेत नियन्त्रणमा लिन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।
काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको निर्णयमा भएको एक साताको निषेधाज्ञा २२ गतेबाट सकिँदैछ। तर, थप एक साता निषेधाज्ञा लम्ब्याउन मन्त्रिपरिषदले निर्देशन दिएको छ। जारी निषेधाज्ञालाई थप कडाइ गर्न तीनै वटा जिल्लाका सीडीओहरूले गृह सचिवलाई जानकारी गराइसकेका छन्।
२० गते तीन वटै जिल्लाका सीडीओहरूको बैठक बोलाएर निषेधाज्ञा थप्ने र प्रभावकारी बनाउन केही सेक्टरलाई थप कडाइ गर्ने तयारी भइरहेको पराजुलीले बताए।
'यो पहिलो चरणको निषेधाज्ञा हो। २० गते बैठक बसेर थप केही क्षेत्रलाई कडा गर्ने तयारी भइरहेको छ,' सीडीओ पराजुलीले भने।
पछिल्लो समय देशभित्र कोभिड सङ्क्रमण फैलिने दर बढेर गएको छ। २२ वटा जिल्लामा कोभिड संक्रमितको सङ्ख्या धेरै भएकाले अति प्रभावित जिल्ला भनेर घोषणा भइसकेको छ। जसमा काठमाडौं पनि गरेको छ। अहिले देशभर दैनिक ४ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन्। सबैभन्दा धेरै काठमाडौंमा सङ्क्रमित थपिरहेकाले पनि निषेधाज्ञालाई कडाइ गर्नुपर्ने सम्बन्धित निकायको सुझाव छ।
त्यस्तै, आज सीडीओको अनुगमन टोलीले काठमाडौंमा रहेको वीर अस्पताल नयाँ भवनमा तत्काल वेड थपेर सङ्क्रमितलाई उपचार गर्न निर्देशन दिएको छ।
