PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पराई भूमिमा महामारी जितेर आएका मातृभूमि टेकेपछि थाले लुटिन



एम बम

पराई भूमिमा महामारी जितेर आएका मातृभूमि टेकेपछि थाले लुटिन

कैलाली: मुगलानबाट आएकाहरूले खचाखच भरिएको बस। गृह जिल्ला जानका लागि त्यही बसको ढोकामा बसेका छन्, बाजुरा त्रिवेणी नगरपालिका ४ का भूपेन्द्र साउद।

दृश्य हो कैलालीको त्रिनगर गौरीफन्टा नाकाको।

भारतमा कोरोना महामारीले रोजगारी गुमेपछि शनिबार बिहान ६ बजे उनी गौरीफन्टा नाका आइपुगे। ५ घण्टा कुर्दा समेत खचाखच भरिएको बस हिँडेको छैन। विगत १२ घण्टादेखि पानीबाहेक केही पनि खान नपाएको दुखेसो उनले पोखे।

भारतबाट नाका आइपुगेपछि धनगढी उपमहानगरपालिका क्षेत्रमै पर्ने त्रिनगरबाट अनुमानित ६ किलोमिटर दूरीमा रहेको वडा नम्बर ७ स्थित देवरीया आफन्तको घर जाने योजना बनाएका थिए उनले। तर, उनलाई त्यहाँसम्मको भाडा ५ हजार लाग्ने बताइएपछि पहिलेभन्दा ५ सय बढी भाडा तिरेर १५ सयमा बाजुरा जान तयार भएका हुन्।

कैलाली कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएपछि अहिले भारतबाट आएकाहरू यसरी नाकामै अलपत्र पर्ने र आफ्नै दाजुभाइबाट ठगिन थालेका छन्।

‘केही भने आफ्नो सामान झार्नुस् भन्छन्’, उनले भने, ‘५ घण्टा कुरिसकेँ अब सामान झारेर पनि जाने के मा? केही विकल्प छैन। भाडा बढी लिए पनि समस्या थिएन, अब थप दुःख झेल्न नपरे त। तर, यहाँ त लुट मच्चाउन थाले।’

अहिले निषेधाज्ञाको मौका छोपेर यातायात व्यवसायीहरूले यसरी दोब्बर बढी भाडा असुल्न थालेका छन्।

दार्चुलाका दलबहादुर ठगुन्नाले भने, ‘भारतबाट यहाँसम्म आइपुग्न त त्यति समस्या भएको थिएन। पुरानै भाडा दरमा यहाँसम्म आइपुग्यौँ तर यहाँबाट भने समस्या भइरहेको छ। पहिलेभन्दा दुई गुणा बढी भाडा तिरेर पनि सहज लैजाने व्यवस्था पाइएको छैन।’

उनले पहिले १ हजारमा कैलालीबाट दार्चुला पुग्ने गरेकोमा अहिले २२ सय तिर्दा पनि लैजान नमानेको गुनासो गरे।

यातायात व्यवसायीले पहिलेभन्दा डेढ प्रतिशत बढी भाडा लिने र सीमाबाट यात्रु लैजाने भनेर सहमति गरेको भए पनि शतप्रतिशत बढी भाडा असुलिरहेका छन्। अहिले सीमामा गत साल पहिलो लहरमा महामारी फैलिएपछि भारतबाट नेपाल आएका र फेरि रोजीरोटीका लागि भारत गएर फर्किनेहरू बढी भेटिन्छन्।

यातायात व्यवसायीले गरिरहेको ठगीको विषयमा स्थानीय प्रशासन भने मौन बसेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell