काठमाडौंः तीव्र गतिमा बढिरहेको कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी छ। अत्यावश्यक बाहेकका अन्य सेवा र व्यवसायहरु बन्द छन्। अत्यावश्यक बाहेकका अन्य कार्यालय सञ्चालन गर्नुपर्ने भएमा एक चौथाइ कर्मचारीले सञ्चालन गराउने व्यवस्था गर्न सरकारले यसअघि नै निर्देशन दिइसकेको छ।
शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले अत्यावश्यक सेवाका हकमा पनि थप कडाइ गरेको छ।
सिसिएमसीले बैंक तथा वित्तीय संस्थामा समेत एक चौथाइमात्र कर्मचारी राखेर सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। सहजीकरण नेपाल राष्ट्र बैंकले गर्ने निवर्णयमा उल्लेख छ।
यस्तै, सञ्चारकर्मीलाई समेत आवागमनका कडाइ गर्ने निर्णय सिसिएमसीले गरेको छ। उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागको परिचयपत्रलाई अनिवार्य गरिएको छ। यस्तै, उपत्यका बाहिर प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास मान्य हुने निर्णय सिसिएमसीले गरेको छ।
शनिबार सार्वजनिक गरिएको निर्णयमा भनिएको छ, ‘काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने।'
यस्तै, सार्वजनिक निर्माण सेवामा खटिएका मजदुरलाई कार्यस्थलमै खाने बस्ने व्यवस्थासहित निर्माण कार्य सुचारु राख्ने निर्णय सिसिएमसीले गरेको छ। यस्तै, कोभिड–१९ नियन्त्रणका लागि आवश्यक पर्ने सामाग्री उत्पादन गर्ने उद्योग स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चान गर्ने निर्णय पनि सिसिएमसीले गरेको छ।
