काठमाडौंः कोभिड–१९ को महामारीको उपचारको दायित्वबाट पन्छिन नमिल्ने भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गरेको छ। विगतमा जस्तै संघ सहयोगका लागि तत्पर रहेको पनि जनाएको छ।
सरकारले केही जिल्लाहरुमा संक्रमणको अवस्था हेर्दा अस्पतालमा शय्या दिन सकिने अवस्था नरहेको बताएको भोलिपल्ट संघले ध्यानाकर्षण जनाउँदै जनताको स्वास्थ्यको जिम्मेवारी सरकारको रहेको स्मरण गराएको हो।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको नै भएको हुँदा कोभिडको महामारीमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय आफ्नो दायित्वबाट पन्छिन नमिल्ने नेपाल चिकित्सक संघको ठहर छ। महामारीको संक्रमण बढदै गइरहेको सुरुकै अवस्थामा स्रोत साधनहरुको राम्रो व्यवस्थापन गरी महामारीसँग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिडविरुद्धको खोप समयमा नै दिई सुरक्षित बनाई तदारुकताका साथ अगाडि बढनु आजको आवश्यकता हो।’
उपचारमा संलग्न चिकित्सक नै संक्रमित भइरहेको भन्दै संघले जनशक्ति व्यवस्थापनबारे पनि सरकारको ध्यानाकर्षण गराएको छ।