PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मकवानपुरमा सोमवार बिहानबाट निषेधाज्ञा



पहिलोपोस्ट

मकवानपुरमा सोमवार बिहानबाट निषेधाज्ञा

हेटौंडा : मकवानपुरमा बैशाख २० गते (सोमबार) बिहानबाट निषेधाज्ञा जारी हुने भएको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएको र संक्रमण जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा घोषणा गरिएको हो।

केहिबेर अघि जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको बैठकले जिल्लामा लकडाउन गर्ने निर्णय गरेको मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले जानकारी दिए। उनका अनुसार मकवानपुरको हटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिका भित्र निषेधाज्ञा हुनेछ। उनका अनुसार निषेधाज्ञा गरिएको क्षेत्रमा अत्यावश्यक बाहेक घरबाट बाहिर निस्कन पाईने छैन। बैठक जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा बसेको थियो।

यसअघि शुक्रवार जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको बैठकले आज शनिबारबाट हेटौंडा उपमहानगरपालिका क्षेत्रमा लागु हुने गरि होटल देखि चिया पसलसम्म र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा रहेको सबै ब्यवसाय बन्द गर्ने निर्णय गरेको थियो।

बैठकले उपमहानगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण होटल, लज, रेष्टुरेन्ट, मिठाई पसल तथा चिया पसलहरू बन्द गर्ने निर्णय गरेको थियो। बैठकले सम्पूर्ण निजी अस्पतालहरूले आआफ्नो अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने र आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू आलोपालो उपलब्ध गराउनु पर्ने निर्णय समेत गरेको थियो।

त्यसैगरी हेटौँडा बजार क्षेत्रमा मानिसहरूको भिडभाडलाई नियन्त्रण एवं व्यवस्थापन गर्न व्यवसायको दिन तोकेर आलोपालो प्रणाली लागू गराउन मकवानपुर उद्योग वाणिज्य संघले व्यवस्थापन गर्ने गराउने गरी निर्णय गरेको छ।

यसअघि केन्द्रले मकवानपुरमा संक्रमण बढ्न र भिडभाड बढ्न नदिन सवारीमा जोर बिजोर प्रणाली लागू गर्नुको साथै जिल्लाको सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिसकेको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि मकवानपुरमा रहेका सम्पूर्ण शैलुन, ब्युटिपार्लर र मदिरा व्यवसाय अर्को सुचना नआएसम्मको लागि बन्द गरेको छ।

केन्द्रले धेरै भिड हुने मालपोत तथा नापी कार्यलय बन्द गर्नुको साथै राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखा र यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाको आन्तरिक कार्य बाहेकका अन्य सबै सेवा अर्को सूचना नआएसम्मको लागि बन्द गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell