स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले ओसासुनामाथि जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले ओसासुनामाथि २-० को सहज जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा मड्रिडलाई अग्रता इडर मिलिटाओले दिलाए। उनले खेलको ७६ औं मिनेटमा इस्कोको पासमा गोल गरेका थिए। त्यस्तै ८० औं मिनेटमा करिम बेञ्जेमाको पासमा कासेमिरोले गोल गर्दा रियलले २-० को जित निकालेको हो।
गएराति नै सम्पन्न अर्को खेलमा एट्लेटिको मड्रिडले एल्चेमाथि संघर्षपूर्ण जित निकालेको थियो। म्यानुअल मार्टिनेज भलेरो स्टेडियममा सम्पन्न खेलमा एट्लेटिकोले घरेलु टोलीमाथि १-० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो।

एट्लेटिकोको जितमा खेलको २३ औं मिनेटमा मार्कोस लोरेन्टेले करास्कोको पासमा गोल गरेका थिए। उता घरेलु टोली पेनाल्टीमा पाएको अवसरमा चुकेको थियो। खेलको अतिरिक्त समयमा चाभेस डे ला टोरेले पेनाल्टी मिस गरेपछि एट्लेटिकोले जित सुनिश्चित गरेको हो।
गएरातिको खेलसँगै एट्लेटिको मड्रिड ३४ खेलबाट ७६ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ भने रियल मड्रिड पनि समान खेलबाट ७४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। तेस्रो स्थानमा ३३ खेलबाट ७१ अंक जोडेको बार्सिलोना छ। एट्लेटिकोले अब अर्को खेलमा बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ।
