PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

लुम्बिनी प्रदेशमा तुहियो अविश्वासको प्रस्ताव, पोखरेलकै नेतृत्वमा नयाँ सरकार



पूजा पन्थी

लुम्बिनी प्रदेशमा तुहियो अविश्वासको प्रस्ताव, पोखरेलकै नेतृत्वमा नयाँ सरकार

बुटवल : लुम्बिनी प्रदेशसभामा आफूविरुद्ध आएको अविश्वास प्रस्तावलाई मुख्यमन्त्री शंकर पोखरेलले तुहाइदिएका छन्। अविश्वासको प्रस्तावमाथि टेबल गर्नका लागि विशेष अधिवेशन डाकिएको दिन बिहानै सरकारबाट राजीनामा दिएर उनले अविश्वासको प्रस्ताव तुहाइदिएका हुन्।

पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुखबाट स्वीकृत भएलगत्तै अविश्वासको प्रस्ताव स्वतः खारेज भएको छ। अविश्वासको प्रस्ताव टेबल गर्नका लागि बोलाइएको विशेष अधिवेनमा अब नयाँ सरकार गठनका लागि आह्वान हुने भएको छ। यसैबीच नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ।

आइतबार बिहान बुटवलस्थित न्यु इरा होटलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको एमाले संसदस्य दलका सचेतक भूमिश्वर ढकालले जानकारी दिए। पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिने ढकालले बताए।

संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका दुई जना सांसदहरू पनि सहभागी भएका थिए।

पछिल्लो समय प्रदेश सभामा देखिएको अंकगणितलाई आधार मानेर मुख्यमन्त्री पोखरेलले आफ्नो नेतृत्वमा एकल सरकार बनाउन आइतबार राजीनामा दिएका हुन्। लुम्बिनी प्रदेश सभामा यसअघि ८७ जना सांसद थिए। पछिल्लो समय जसपाका चार र माओवादी केन्द्रका दुई जना सांसद निलम्बित भएपछि अहिले प्रदेश सभा ८१ सदस्यीय छ।

सत्तारूढ एमालेसँग ४१ सांसद छन्। संविधाननको धारा १६८(१)  अनुसार बहुमतको सरकार बनाउन पुग्ने ४१ सांसद आफ्नो दलका भएपछि पोखरेलले अविश्वासको प्रस्ताव पेश हुने दिन नै राजीनामा दिएका हुन्।

प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई (चारजना कारबाही पछि)  बच्ने छन्। त्यस्तै राष्ट्रिय जनमोर्चासँग एक सांसद छन्।

लुम्बिनीमा एमालेबाहेकका दलको सभामुखबाहेकको संख्या जोड्दा ३९ मात्रै पुग्छ।

अविश्वासको प्रस्तावमा एमालेभित्रको माधवकुमार नेपाल पक्षले फ्लोर क्रस गर्ने सम्भावना पनि पोखरेलको राजिनामासँगै तुहिइएको छ। लुम्बिनी प्रदेश सभामा नेपाल पक्षका २ सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell