PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सुदूरपश्चिममा कोरोना महामारीको जोखिम बढ्दो, अस्पतालमा छैन ठाउँ, एक सातामै ३६ संक्रमितको मृत्यु



एम बम

सुदूरपश्चिममा कोरोना महामारीको जोखिम बढ्दो, अस्पतालमा छैन ठाउँ, एक सातामै ३६ संक्रमितको मृत्यु

कैलाली : शनिवार कोभिड–१९ संक्रमण पुष्टि भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बाबाथानस्थित लक्ष्मी माविका प्रधानाध्यापकको मृत्यु भयो। सामान्य रुघाखोकीसँगै श्वासप्रश्वासमा समस्या भएपछि लक्ष्मी माविका प्रधानाध्यापक १६ गते महाकाली अस्पतालमा भर्ना भएका थिए। दोस्रो दिन १७ गते कोभिड पुष्टि भएको थियो। थप उपचारको लागि डडेलधुरा लैजाने क्रममा उनको बाटोमै मृत्यु भयो। उनलाई अक्सिजन जडित एम्बुलेन्समा अस्पताल रेफर गर्नुपर्ने अवस्था थियो। तर अक्सिजन नभएको एम्बुलेन्समा उपचारको लागि डडेलधुरा अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।

यसरी अक्सिजनको व्यवस्थापन हुन नसक्दा पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा सङ्क्रमणसँगै मृत्युदर पनि तीव्र गतिमा उकालो लागेको छ। पछिल्लो एक सातामै प्रदेशभर ३६ जना कोरोना संक्रमितको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।

गत सोमबार १६ गतेसम्म प्रदेशमा ६४ जनाको रोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको थियो। त्यसयता पछिल्लो ७ दिनमा थप ३६ जनाको मृत्यु भएको निर्देशनालयको तंथ्याक छ। शनिवार मात्रै प्रदेशमा कञ्चनपुरका ६, कैलालीका ३ र बझाङका एक गरी १० जनाको मृत्यु भएको थियो। प्रदेशमा अक्सिजनको अभाव हुन थालेपछि कोरोना सङ्क्रमितले ज्यान गुमाउने क्रम बढ्दै गएको हो। पछिल्लो समय कैलाली र कञ्चनपुरमा मृत्युदर बढ्दो गतिमा छ। अक्सिजनको चरम अभाव रहेको जटिल प्रकृतिका सङ्क्रमितलाई बचाउन मुश्किल परिरहेको अस्पतालहरूको भनाइ छ। अस्पतालमा राखने ठाउँ नभएर समेत सङ्क्रमितले ज्यान गुमाउन थालेका छन्।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठ भन्छन्, ‘गर्मीका कारण लोड धान्न नसक्दा अक्सिजन प्लान्ट बेलाबेलामा बन्द हुने समस्या छ। त्यसैले हामीले क्षमताअनुसार अक्सिजन उत्पादन गर्न सकेका छैनौँ, अहिले दैनिक ५५ सिलिन्डर मात्र उत्पादन भइरहेको छ, उत्पादनको दोब्बर माग छ।’

अस्पतालमा अक्सिजन सिलिन्डरको समेत अभाव रहेको उनले बताए। कञ्चनपुरको महाकाली अस्पतालले पनि मागअनुसार अक्सिजन व्यवस्थापन गर्न सकेको छैन। धनगढी र नेपालगन्जबाट यसअघि अक्सिजन आपूर्ति गर्दै आएको महाकाली अस्पतालले अहिले अक्सिजन पाइरहेको छैन।

कञ्चनपुरको महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, ‘हामी कहाँ अहिले सबैभन्दा बढी आवश्यकता जनशक्तिको छ। स्वास्थ्य उपकरणको पनि अभाव छ।’ कञ्चनपुरमा अस्पतालमा भर्ना गर्न बिरामी राख्ने ठाउँ नभएपछि त्यहाँबाट डडेलधुरा रेफर गर्ने गरिएको छ। तर अहिले डडेलधुरामा पनि कोरोना सङ्क्रमितले अस्पताल भरिएको छ।

अस्पतालले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न नसकिने सूचना जारी गर्दै जानकारी गराएको छ। सूचनामा भनिएको छ, ‘हामी निकै गाह्रो समयको सामना गरिरहेका छौँ, हामीले यस्तो दिनसँग सामना गर्नुपर्ला भनेर सोचेका थिएनौं, तत्काल थप बिरामीहरूलाई भर्ती गर्न नसक्ने वास्तविकतामा पुगेका छौं।’ अस्पतालमा भएका बिरामी निको हुने बित्तिकै नयाँ केस भर्ने अस्पतालले जनाएको छ। हाललाई अस्पताल सेवा पहिले नै सन्तृप्त भइसकेको कुरा सार्वजनिक गर्दछौँ,’ सूचनामा लेखिएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले अक्सिजनले धान्न नसकेर बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको बताए। ‘अक्सिजन आवश्यक पर्नेलाई रेफर गर्नेछौं। बेडमात्र भएर के गर्ने अक्सिजन अभाव भइसक्यो,’ उनले भने। अस्पतालमा आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट छ। त्यसको दैनिक ११ जनालाई मात्रै अक्सिजन दिन सक्ने क्षमता रहेको मेसु विष्टले बताए।

डडेलधुरा बाहेकका अन्य पहाडी जिल्लामा दुई/दुई थान आईसीयू र भेन्टिलेटर त छन्। तर जनशक्ति अभावले प्रयोगमा आउन नसक्दा जटिल प्रकृतिका सङ्क्रमितलाई समेत कैलाली–कञ्चनपुरमा रेफर गर्नुपर्ने बाध्यता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell