PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

एकतीस जिल्लामा पुग्यो निषेधाज्ञा : अरु जिल्लाहरु पनि थपिँदै



पहिलोपोस्ट

एकतीस जिल्लामा पुग्यो निषेधाज्ञा : अरु जिल्लाहरु पनि थपिँदै

काठमाडौं : देशभर कोभिड १९ संक्रमण फैलिएपछि स्थानीय प्रशासनले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेका छन्। बाँकेको नेपालगञ्ज उप-महानगरपालिकाबाट सुरु भएको निषेधाज्ञा आइतवार बिहानसम्म ३१ वटा जिल्लामा पुगेको छ। आइतवारमात्रै  धनुषा जिल्लाले मंगलवारबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरिसकेको छ।

जिल्ला प्रशासन कार्यालयलाई नै कोभिड संक्रमितको सङ्ख्या हेरेरे निषेधाज्ञा जारी गर्ने अधिकार दिइएको छ। ३१ जिल्लामध्ये २३ वटा जिल्लामा पूरै जिल्लामा निषेधाज्ञा गरिएको छ। बाँकी जिल्लाहरुमा भने संक्रमित संख्या हेरेर निश्चित क्षेत्रमा मात्र निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

बाँके, सुर्खेत,काठमाडौं, ललितपुर, भक्तपुर,कस्की, कैलाली,पर्सा, दाङ,कञ्चनपुर,चितवन,पाल्पा, रुपन्देही, सुनसरी, सल्यान, जाजरकोट, रुकुम पश्चिम, डेल्धुरा, झापा,गुल्मी, प्युठान, उदयपुर र बझाङमा जिल्लाभर नै निषेधाज्ञा गरिएको छ।

त्यस्तै, मकवानपुर, बाजुरा, गोरखा,काभ्रेपलाञ्चोक, मोरङ, दार्चुला, बर्दिया र बाग्लुङका केही स्थानहरुमा मात्र निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ।

बाँकेमा बैशाख १३ गते रातीबाट जारी भएको निषेधाज्ञा २० गते राती १२ बजेसम्मका लागि लागू गरिएको छ। काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि २२ गतेसम्मको लागि निषेधाज्ञा  जारी गरिएको छ। तर, उपत्यकाको हकमा मन्त्रिपरिषद्को बैठकले १५ दिनसम्म निषेधाज्ञा गर्न निर्देशन दिएको छ। उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सोमवार बैंठक बसेर निषेधाज्ञा थप गर्ने निर्णय गर्ने तयारी छ।

त्यस्तै, धनुषामा मंगलवारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय भइसेको छ। मंगलबारदेखि १० दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। संक्रमणको 'चेन ब्रेक' गर्नुपर्ने देखिएकोले जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञा जारी भएकामध्ये अधिकांश जिल्लामा गत बिहीवार (वैशाख १६) र त्यसपछि निषेधाज्ञा जारी भएको छ। उदयपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, झापा, डडेल्धुरा, रुकुम पश्चिम, सल्यानका केही स्थानमा भने आजबाट निषेधाज्ञा जारी गरिएको हो।

पछिल्लो समय देशभर ५ हजार भन्दा बढी कोभिड १९ संक्रमति थपिएका छन्। काठमाडौं उपत्यकाभित्र पछिल्लो दिनमा २३ सय भन्दाबढी मानिस संक्रमिति भइरहेका छन्। स्वास्थ्य मन्त्रालयले २२ जिल्लालाई अति प्रभावित जिल्ला भनेर घोषणा गरिसकेको छ। जसमा काठमाडौं उपत्यकाभित्रका तीनै जिल्लादेखि पूर्वमा झापा र पश्चिमा बाँके र कञ्चनपुरसम्मै परेका छन्। 

अति प्रभावित जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर रहेको मन्त्रालयले जनाएको छ। चितवनमा दुई साताको लागि निषेधाज्ञा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell